कमसल काम भएको भन्दै कालोपत्र बनाउन स्थानीयको रोक

प्रस, ठोरी, ३१ साउन/
    वीरगंज–ठोरी सडकखण्ड अन्तर्गत आठघरेदेखि मिलचोकसम्मको कालोपत्र बनाउने काममा स्थानीयले अवरोध गरेका छन्।
    ठोरी गाउँपालिका–४ को आठघरेदेखि मिलचोकसम्म कालोपत्र गर्ने क्रममा अनियमितता भएको भन्दै स्थानीयले निर्माण कार्यमा अवरोध पु–याएका हुन्। कालिका/बानियाँ जेभी
अन्तर्गत निर्माण भइरहेको सो सडकखण्डको कालोपत्र गुणस्तरहीन भएको स्थानीयको आरोप छ।
    सडक निर्माण गर्दा बिडिएम ५ सेमी बाक्लो बिच्छ्याउनुपर्नेमा कतिपय स्थानमा ३ सेमीमात्र बिच्छ्याइएको विरोधकर्ताहरूले बताए। शुक्रवार गरिएको कालोपत्र ठाउँ–ठाउँमा उप्किएको उनीहरूको आरोप छ। ठेकेदारले लापर्बाही गरेको भन्दै ठोरी गापा–४ का अध्यक्ष बईबहादुर तामाङसहितका स्थानीयले विरोध गरेका थिए।
    कमसल तरीकाबाट निर्माण गरिएको कालोपत्र उप्काएर गुणस्तरीय काम गर्न उनीहरूले ठेकेदार कम्पनीलाई दबाब दिएका थिए। वडाध्यक्ष तामाङले कालोपत्र बारम्बार बनाउन नसकिने भएकोले एकपटक गरिएको काम गुणस्तरीय हुनुपर्ने र सो वर्षौंसम्म टिक्नुपर्ने बताए। गुणस्तरहीन कामबाट सडकको आयु कम हुने र आफूहरूले दुःख पाउने उनको भनाइ छ।
    ठेकेदार कम्पनीका फिल्ड इन्चार्ज उद्धव न्यौपानेले प्राविधिक कारणवश बिडिएम कतै तोकिएभन्दा कम भएको स्वीकारे। उनले सडकको कारण त्यस्तो हुन गएको र ठेकेदारको नियत खराब नभएको जिकिर गरे। उनले तोकिएको मापदण्डमा सडक निर्माण भइरहेको र काम गुणस्तरीय भएको दाबी गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here