सालको गोलियासहित ३ वटा टायर नियन्त्रण

प्रस, निजगढ, ३१ साउन/
अवैध काठसहित तीनवटा टायरगाडा सशस्त्र वनरक्षकको टोलीले नियन्त्रणमा लिएको छ।
डिभिजन वन बारा र भलुवाहीखोरको वनगस्ती टोलीले शुक्रवार दुईवटा सालको गोलिया र पाँच थान बाझीको काठसहित टायरगाडा नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय बाराका प्रमुख एवं डिएफओ मन्जुर अहमदले जानकारी गराएका छन्।
बारा र रौतटहको सीमामा पर्ने बकैया खोला किनारामा ढलेको सालको रूखलाई गोलिया बनाइ चोरी गर्न लागिरहेको बखत वनगस्ती टोलीले तस्कर समूहलाई नियन्त्रणमा लिन खोज्दा तस्कर समूह टायरगाडा छाडी राँगा र गोरु लिएर फरार भएको डिभिजन वन प्रमुख अहमदले बताए।
नियन्त्रणमा लिइएको सो टायरगाडा रौतहट भसेडवाको रहेको वन कर्मचारीको दाबी छ। बरामद दुई थान सालको गोलिया १५ क्यूफिट र पाँच थान बाझीको काठ १८ क्यूफिट रहेको छ। तस्कर समूहको खोजी भइरहेको वन कार्यालयले जनाएको छ।
यसैगरी, हेटौंडा सबडिभिजन वनको टोलीले शनिवार पाँच थान सालको गोलिया नियन्त्रणमा लिएको छ। हेटौंडा उपमहानगरपालिका–१५ स्थित चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रबाट काठसहित एक थान आरा, दुईवटा नाम्लो बरामद गरिएको सबडिभिजन वन कार्यालय हेटौंडाका प्रमुख एवं सहायक वन अधिकृत गायत्री शर्माले जानकारी दिइन्।
बरामद काठ १२.५८ क्यूफिट रहेको र वन तस्करीमा संलग्नको खोजी जारी रहेको डिभिजन वन कार्यालय मकवानपुरले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here