पतिको कुटपीटबाट पत्नीको मृत्यु

0
264

प्रस, निजगढ, ३१ साउन/
निजगढ नगरपालिका–१३ भक्तलालमा बिहीवार पतिको कुटपीटबाट ३९ वर्षीया महिला निर्मला गोले (रूम्बा)को मृत्यु भएको छ।
पत्नीको हत्या गरेको अभियोगमा निर्मलाका पति ४३ वर्षीय शुक्ले रूम्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीवार बिहान करीब ११ः३० बजे पति–पत्नीबीचको विवादमा आक्रोशित पति शुक्लेले निर्मम कुटपीट गर्दा उनकी पत्नी निर्मलाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
परिवारका सदस्यहरूका अनुसार शुक्लेले पत्नी निर्मलाको छाती र पेटमा लात र घुँसाले प्रहार गरेपछि उनी अचेत भएर ढलेकी थिइन्। अटोमा राखेर तत्काल गाउँकै स्वास्थ्य क्लिनिकमा लगे पनि उपचार हुन नसकेपछि हेटौंडा लैजाँदै गर्दा निर्मलाको बाटोमैं मृत्यु भएको हो।
मृतकको शव हेटौंडा अस्पतालमा शल्य परीक्षण गरी आफन्तले बुझिलिएका छन्। अभियुक्त शुक्लेलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय निजगढको जिम्मा लगाएको मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here