प्रस, वीरगंज, ३१ साउन/
शुक्रवार र शनिवार वीरगंजका दुई कोभिड विशेष अस्पतालबाट ७२ जना डिस्चार्ज भएका छन्।
दुईपटकको पिसिआर परीक्षण नेगेटिभ आएपछि वीरगंज हेल्थकेयरबाट २८ जना र गण्डक अस्पतालबाट ८ जना गरी ३६ जना शुक्रवार डिस्चार्ज भएका छन्। १८ देखि ६० वर्ष उमेरका ३६ जना डिस्चार्ज भएका हुन्। शुक्रवार सञ्चारकर्मी क्रान्ति साहसहित ३६ जना डिस्चार्ज भएका थिए भने शनिवार नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, वीरगंज कारागारका जेलर श्रवण पोखरेल, वडाध्यक्ष जगत साह कानूसहित ३६ जना छन्।
दुईजनाको मृत्यु
शुक्रवार र शनिवार कोरोना सङ्क्रमित दुईजनाको मृत्यु भएको छ। वीरगंज–१२, मुर्ली निवासी ६० वर्षीय वृद्धको शुक्रवार मृत्यु भएको कोभिड विशेष अस्पताल गण्डकले जनाएको छ। उच्च रक्तचाप, मधुमेह तथा पक्षघातबाट पीडित ६० वर्षीय वृद्ध साउन २४ गते भर्ना भएका र उनको हिजो बेलुकी ७ बजे निधन भएको डा उदयनारायण सिंहले बताए। हिजो साँझ स्वास्थ्यमा समस्या भएपछि उपचारको क्रममा मृत्यु भएको डा सिंहले बताए।
यसैगरी, शनिवार बिहान वीरगंज–२० हरपतगंजका ४७ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ। शनिवार बिहान उनलाई स्वास्थ्यमा समस्या भएपछि नारायणी अस्पतालमा ल्याउने बित्तिकै उनको मृत्यु भएको अस्पतालले जनाएको छ। उनको स्वाब रिपोर्ट पोजेटिभ आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here