प्रस, महोत्तरी, ३१ साउन/
महोत्तरीको भङ्गाहामा सर्पले टोकेको भन्ने भ्रममा परेर आठजना अचेत बनेको खबर छ। भङ्गाहा नगरपालिका वडा नं ५ शुक्रवार साँझ राजपुर टोलका १६ जनालाई सर्पले टोकेको हल्ला फैलिएको थियो। टोलका बासिन्दाहरू एकपछि अर्को आफूलाई सर्पले टोकेको शङ्का लाग्यो भन्दै आत्तिएर कराउने गरेका थिए। सो क्रममा आठजना बेहोश भएका थिए।
सर्पले टोकेर अचेत बनेको भन्दै उनीहरूलाई राति नै बर्दिवासस्थित सर्पदंश उपचार केन्द्रमा उपचारका लागि भर्ना गरिएको थियो। तर उनीहरू १६ जना कसैको पनि शरीरमा सर्पदंशको चोट नदेखिएको र विषको लक्षण पनि नदेखिएको केन्द्रका चिकित्सकहरूले बताए। अचेत नभएका आठजनालाई केही भएको छैन भन्दै तत्कालै चिकित्सकले घर फर्काइदिए भने अचेत आठजनाको केही समयपछि चेत खुलेसँगै अवस्था सामान्य भएपछि सम्झाइबुझाइ अबेर राति नै घर पठाएका थिए।
बेहोश भएकाहरूमा सातजना महिला र एकजना पुरुष थिए। उनीहरूको अवस्था अहिले सामान्य रहेको बर्दिवास सर्पदंश उपचार केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले शनिवार जानकारी गराएका छन्। केही पहिले गाउँकै एक महिलाको सर्पदंशबाट ज्यान गएको थियो। सोही समयदेखि टोलवासीमा सर्पदंशको त्रास छाएकोले भ्रममा परेर बेहोश भएको हुन सक्ने अध्यक्ष देवकोटाको बताए।