ठोरीवासीलाई खानेपानीको समस्या

प्रस, सेढवा, ३० साउन/
    वर्षायाममा ठोरी गाउँपालिका अन्तर्गत ब्रह्मनगरका बासिन्दाले अहिलेसम्म खानेपानीको समस्या झेल्दै आएका छन्।
    स्थानीय तह गठन भएपछि स्वच्छ पिउने पानी प्राप्त हुने आशामा रहेका साबिक निर्मलबस्ती गाविस–३, ४ हाल ठोरी गापा–३ ब्रह्मनगर, बुद्धनगर र ओडारका बासिन्दाले प्रत्येक वर्षझैं यस वर्ष पनि वर्षायाममा खानेपानीको समस्या झेल्नुपरेको छ। ओडार खोलाको माथि रहेको चिसापानी स्थानबाट पानी शुद्धीकरण गर्ने इम्प्याक्टमा पाइप जडान गरी ल्याइएको पानी बाढीले पाइप भत्काउँदा खानेपानीबाट ब्रह्मनगरका बासिन्दा वञ्चित भएको शिक्षक भोपाल जोशीले बताए। दुई दिनअघि आएको बाढीले पाइपलाइन भत्काएपछि सयौं घरपरिवार खानेपानीको समस्या झेलिरहेका छन्।
    गाउँमा दुईवटा बोरिङ छन् तर एक किलोमिटर टाढा रहेकाले त्यहाँ पुगेर पानी ल्याउनुपर्ने बाध्यता छ। खानेपानी प्रयोजनको लागि मात्र बोरिङबाट पानी ल्याइन्छ बाँकी कामको लागि बोरिङबाट पानी ल्याउन समस्या छ। सय परिवार दुईवटा बोरिङमा आश्रित भएकाले खानेपानीबाहेक अन्य कार्यको लागि पालो पर्दैन।
    गाउँपालिकाले खानेपानी पाइपलाइन मरम्मतको लागि शुक्रवार प्रयास गरेको छ। एक्साभेटरसहित जङ्गलमा पाइपलाइन मरम्मतको लागि मानिस खटाइएको छ। मरम्मत भएको खण्डमा आजैबाट खानेपानीको व्यवस्था हुन सक्ने स्थानीयले बताए। जङ्गलभित्र पानी शुद्धीकरणको लागि दुईवटा इम्प्याक्ट निर्माण गरिएको छ। एउटा पाइपलाइनबाट ओडार, बुद्धनगरमा खानेपानीको आपूर्ति हुन्छ। यो ठाउँको पाइपलाइन खोला कटाउनु नपरेको कारण समस्या हुँदैन तर बुद्धनगरमा जाने पाइपलाइन ओडार खोला कटाएर पु–याइएकोले बाढी आएको बेलामा पाइपलाइन भत्किने गर्दा समस्या हुने गरेको हो।
    बाढीको समयमा हुने यो समस्यालाई समाधान गर्ने ठोस पहल गरिएको छैन। बाढीसँगै चितवन राष्ट्रिय निकुञ्जबाट निस्किने हात्तीले पनि कहिलेकाहीं पाइपलाइन भत्काउँदा समस्या हुने गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here