प्रस, वीरगंज, २९ साउन/
जसपाका नेता नेजामुद्दीन समानी साउन २७ गतेदेखि नारायणी अस्पताल र पोखरिया अस्पतालको जनरल सेवा सञ्चालन हुनुपर्ने माग राख्दै दैनिक एक घण्टा धर्ना दिंदैछन् ।
नेता समानीले बिहान ११ देखि १२ बजेसम्म आफ्नो घरअगाडि धर्ना दिने गरेका छन् । उनले वीरगंजमा कोरोनाको सङ्क्रमण फैलिएको बेला सामान्य बिरामीको उपचार कुनै पनि अस्पतालले नगरेको सन्दर्भमा नारायणी अस्पतालमा जनरल सेवा प्रभाव गर्नुपर्नेमा सो नगरी कोभिड बनाउने निर्णय गरेकोमा स्वास्थ्य मन्त्रालयको विरोधमा धर्ना दिएका हुन् ।
उनले वीरगंजमा चिकित्सक, स्वास्थ्यकर्मीहरूको टोली पठाउनुपर्नेमा मन्त्रालयले कोभिड बनाउन पत्र पठाएकोमा आपत्ति जनाएका छन् । नारायणी अस्पतालमा ओपिडी, प्रसूति, डायलोसिस, एनआइसियूलगायत सबै सेवा सुचारु नहुन्जेलसम्म धर्ना जारी रहने बताए ।
यसैगरी, उनले पोखरिया अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी पनि सङ्क्रमणको शिकार भएकाले अन्यको पिसिआर परीक्षण गर्ने र सो अवधिका लागि थप चिकित्सक, स्वास्थ्यकर्मी पठाएर सेवा सञ्चालनमा ल्याउन प्रदेश सरकारसँग माग गरेका छन् ।
नेता समानीले यसअघि पनि नारायणी अस्पताललाई कोभिड अस्पताल बनाइएको विरोधमा घरमैं एक घण्टा धर्ना दिएका थिए । उनको यो अभियानमा पर्साका युवाहरूले साथ दिंदै घरमैं धर्ना दिएका थिए ।