प्रस, सिराहा, २९ साउन/
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण र राहत वितरणका कार्यमा भ्रष्टाचार भएको आरोप लगाउँदै सिराहाको औरही गाउँपालिकाका बासिन्दाले छानबीन गर्न माग गरेका छन् ।
औरही–५ प्राथमिक स्वास्थ्य केन्द्रअगाडि स्थानीय युवाहरूले प्लेकार्डसहित प्रदर्शन गर्दै कोरोना भाइरस नियन्त्रणका नाममा भएका भनिएको सबै खर्चको विवरण सार्वजनिक हुुनुपर्ने र राहत वितरणमा समेत भएको भेदभाव तथा अनियमितताको छानबीन गरी दोषीमाथि अविलम्ब कारबाही गर्न माग गरेका छन् ।
त्यसैगरी, जिल्लाको लहान नगरपालिकामा पनि विरोध शुरू भएको छ । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका नाममा लहान नगरपालिकामा व्यापक अनियमितता भएको नेपाली काङ्ग्रेसको आरोप छ । यस सम्बन्धमा नेकाका स्थानीय नेता तथा राज्य व्यवस्था समितिका सदस्यसमेत रहेका महेश चौधरीले पालिकामा जनसरोकारको सूचना माग गरेको तर पालिकाले हालसम्म उपलब्ध नगराएको बताएका छन् । ऐन कानूनले निर्धारण गरेको सीमाभित्र सूचना नपाए कानूनीरूपमा नै अगाडि बढ्ने र सूचना पाएमा सो सूचनालाई सर्वसाधारण जनताको बीचमा सार्वजनिक गर्ने कार्यक्रम रहेको नेपाली काङ्ग्रेसले जनाएको छ ।
कोरोना महामारीका बेला जनप्रतिनिधि र कर्मचारीले लिएको भत्ता नामावलीसहित प्रकाशित गर्न, इन्धन खर्च, क्वारेन्टाइन व्यवस्थापनका लागि खरीद गरिएको सामग्रीको खरीद मूल्य र कोरोना नियन्त्रण गर्न गरेको खर्च विवरण खरीद मूल्यसहित सार्वजनिक गर्न पनि नेकाको स्थानीय समितिले माग गरेको छ ।
कोरोना सङ्क्रमण नियन्त्रण तथा राहत वितरणका बेला बजार मूल्यभन्दा बढीमा सामान खरीद गरिएको आरोप लागेपछि केही दिन पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाको कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।