मेड इन चाइना

0
214

लघुकथा
–ऋषि तिवारी ‘लखन्तरे’
    बिहान मर्निङवाकको तयारीसँगै ढोकाको चुकुल खोल्न पुगें।
    ढोका बेलुका आफैंले लगाउने गरेको छु र बिहान पनि आफैंले खोल्ने गरेको छु। जतिजना परिवार छन् किन खोल्नुप–यो ढोका ? किन चुकुलमा हात सबै परिवारले लगाउनुप–यो ?
    चुकुल खोलें। बाहिरको ग्रिलको ताल्चा खोलें। फेरि कम्पाउन्डको मुख्य ढोका खोलें। त्यहाँ शङ्खे कीरा झुन्डिएको देखें। ऊ फ्यात्त भुइँमा झ–यो। मनको आत्माले कोरोना हो यो भन्यो। मनमनै गफिएँ भनौं ऊसँग बातचित गरें।
    “कोरोना तिमी कहाँबाट कसरी यता आयौ ? किन मानव प्रणालीमा दखल दिन खोजेको ?” कोरोनाले पनि प्रश्न ग–यो पहिले मलाई। “तपाईंको परिचय दिनुस् पहिले। अनि म आफ्नो बताउँला।” मैले परिचय दिनु आवश्यक नै ठानें। त्यो बेलासम्म त्यो कीटाणु कोरोना मेरो हातमा बस्न पाएकै थिएन। मैले उसलाई परिचय दिन थालें– “म एउटा साधारण जागीरे मान्छे हुँ। बिहान–बेलुका फुर्सदको समयमा लेखरचना फुर्छुं।” उसले प्याच्चै भन्यो– “ए ! तपाईं साहित्यकार पो ?” मैले फेरि भनें– “हो म साहित्यकार।” उसले फेरि भन्यो– “पत्रकार जस्तो होइन नि तपाईं ?” मैले फेरि भनें– “होइन, होइन म पत्रकार जस्तो होइनँ। देखेको र आफूले भोगेको जस्तो लेख्ने हो।”
    कोरोना कहाँबाट उत्पत्ति भएको उसले सबै भन्यो। अनि ऊ कसरी अन्त हुन्छ त ? यो कुरो उसले भनेन। नभनेपछि आफैंले बुझें। यसको अन्त्य नजीक छ। यो ‘मेड इन चाइना’ हो।
    गेटमैं उभिएको देखेर छोरीले भन्न थालिन्– “बाबा, आज मर्निङवाक जान किन ढिला ?”
    छोरीलाई के थाहा बाबा कोरोनासँग संवाद गर्दैछ भनेर। फेरि छोरीले भनी– “बाबा, ऊ शङ्खे कीरा लठीले बाहिर फ्याँक्नुस् त।”
    तब म झस्किएँ, छोरीलाई भनें– “यो शङ्खे कीरा हाम्रो देशको हो। हाम्रो टोलको हो। के ठीक भोलि यसले कोरोना कीटाणु टिपेर प्वाक्क मुखमा पो हाल्छ कि ?” –विराटनगर–६, ममतामार्ग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here