कविवर माधव घिमिरे– छोटो परिचय

0
259

    १०१ वर्षे कविवर माधव घिमिरेको नश्वर चोला अब हामीबीच रहेन। विसं १९७६ असोज ७ गते लमजुड्ढो पुस्तुन गाउँमा उनको जन्म भएको थियो। तीन वर्षको उमेरमा उनकी आमाको निधन भएको थियो। ११ वर्षको उमेरमा सात मोहर दाम घरबाट चोरेर उनी काठमाडौं छिरेर तीनधारा संस्कृत पाठशालामा भर्ना भएका थिए। तिनताका तीनधारा संस्कृत पाठशाला नेपालकै नामूद पाठशाला थियो। पूर्णप्रसाद ब्राह्मण र श्रीभद्र शर्माहरूले अन्य आधुनिक विषयसमेत पढाइयोस् भन्दै तीनधारा संस्कृत पाठशालाबाट पहिलो विद्यार्थी आन्दोलन ‘जयतू संस्कृत’ आन्दोलन गरेका थिए। जयतू संस्कृत आन्दोलन नै नेपालको पहिलो विद्यार्थी आन्दोलन मानिन्छ। पूर्णप्रसाद ब्राह्मण र श्रीभद्र शर्मा ब्राह्मण (बाहुन) भएकाले राणाहरूले चारपाटे मुडेर यी दुवैलाई डाँडा कटाएका थिए। श्रीभद्र शर्मा पछि पञ्चायती राजनीतिमा पसे।
    पुस्तुन गाउँमा १० वर्षको उमेरसम्म कविवर माधव घिमिरे सानातिना कार्यक्रमहरूमा गीत गाउने र कविता वाचन गर्दथे। विसं १९९२ मा यिनको पहिलो कविता गोरखापत्र दैनिकले छाप्दा यिनी हर्षविभोर भएका थिए। उहिले गोरखापत्र, मधुपर्कमा कथा, कविता छापिनु सफलताको सिढी चढ्नुजस्तै मानिन्थ्यो। ८५ वर्षको उमेरमा नेपाल सरकारले यिनलाई राष्ट्रकविको पदवीले विभूषित गरेको थियो। घिमिरे स्वच्छन्तावादी, भावधारा र परिष्कारवादी शैलीका कुशल कवि, गीतकार र साहित्यकार मानिन्छन्। घिमिरेले गीत, नाटक, कथा, अनुवाद, लेख प्रबन्ध र काव्य जस्ता अनेकौं विधामा कलम चलाएर आफूलाई अब्बल साबित गरेका छन्। नव मञ्जरी, घामपानी, नयाँ नेपाल, किन्नर–किन्नरी उनका प्रख्यात कविता सङ्ग्रह हुन्।
    भनिन्छ, उनको जीवन लामो मात्र होइन, भव्य पनि थियो। बुढ्यौली र रोगमा समेत उनी सखारै उठ्ने, नुहाइधुवाइ गर्ने अनि लेख्न बसिहाल्थे रे। जीवनबारे राष्ट्रकविको बुझाइ– सके केही गर, नसके संसार हेर्दै मुस्कुराऊ भन्ने थियो।
    व्याकुल माइलाको ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’ छनोट हुनुअघि राष्ट्रिय गानको रूपमा माधव घिमिरेको ‘गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली, जय जय जय नेपाल सुन्दर, शान्त विशाल’ प्रचलनमा थियो। साहित्यमार्फत् उनले नेपाल र नेपालीलाई लगाएको गुण सदिऔंसम्म हाम्रो मानसपटलमा अटल रहने देखिन्छ। गीतकारका रूपमा उनको गीत– ‘फूलको थुँगा बगेर गयो’ तारा देवीले गाएको अनि ‘आजै र राति के देखें सपनामैं मरी गएको, बतासैविना हाँगोको फूल भई झरिगएको’ नारायण गोपाल
(स्वरसम्राट)ले गाएका थिए। ‘नेपाली हामी रहौंला कहाँ, नेपालै नरहे’ भन्ने यिनको गीतले सबै नेपालीको मनको व्यथा ओकलेको देखिन्छ।
    यिनकी पत्नी गौरीको २० वर्षको उमेरमा मृत्यु भएको थियो। पत्नी गौरीको सम्झनामा यिनले ‘गौरी’ शोककाव्य लेखेका थिए।
    आमा सम्झेर यिनले लेखेको दुई हरफ निकै रोचक घोचक छ। यी रोइ पनि दुःख लाग्छ, यिनले सम्झे कि आमा भनी, यी हाँसे नि सुख छैन–यिनले बिर्से कि आमा भनी। मालती मङ्गले, शकुन्तला महाकाव्य यिनको चिरस्मरणीय महाकाव्य मानिन्छ।
    उनले आफ्नो मृत्युपश्चात् सार्वजनिक गर्ने गरेको उनको अन्तिम गीतको बोल– ‘त्यसरी होस् मरण’ कर्णदासको स्वरमा छ। उनको यो अन्तिम गीत राष्ट्रिय समाचार समितिले प्राप्त गरेको छ। लमजुड्ढो पुस्तुनबाट भागेर काठमाडौं पुगेर राष्ट्रकविमा दरिन पुगेका युगपुरुष माघव घिमिरेप्रति पर्सा जिल्लाबाट हाम्रो पनि हार्दिक श्रद्धाञ्जलि।
  – कुमार रुपाखेती

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here