प्रस, निजगढ, २८ साउन/
बाराको निजगढमा बन्ने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रभित्रका रूखबिरुवाहरूमा नम्बरिङ, ट्यागिङ कार्य शुरू भएको छ ।
सङ्घय वन तथा भूसंरक्षण मन्त्रालय, वन तथा भूसंरक्षण विभाग र प्रदेश नं. २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश वन निर्देशनालयको पनि निर्देशन अनुसार डिभिजन वन कार्यालय बाराले काम शुरू गरेको हो ।
विमानस्थल निर्माण क्षेत्रभित्र पर्ने रूखबिरुवाको लगत पेश गर्न डिभिजन वन कार्यालय बारालाई दुवै निकायको निर्देशन रहेको डिभिजन वन कार्यालय बाराका प्रमुख एवं डिएफओ मन्जुर अहमदले बताए ।
उक्त कार्यबापत दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यालयले गत आर्थिक वर्ष २०७६/७७ मा पेश्कीस्वरूप डिभिजन वन कार्यालय बारालाई ४५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । विमानस्थलका लागि चाहिने कुल ११ हजार ८ सय ७५ बिघा क्षेत्रफलमध्ये पहिलो चरणका लागि १९ सय हेक्टर अर्थात् २ हजार ८ सय ५० बिघा वन क्षेत्रमा नम्बरिङ, ट्यागिङ गरिने डिभिजन वन प्रमुख अहमदले जानकारी गराए । उक्त कार्यका लागि हाल चारवटा टोलीमा प्राविधिकसहित दैनिक २० जना खटिरहेका छन् ।
३२ सेन्टिमिटरभन्दा बढी गोलाइ भएका रूखमा मात्रै नम्बरिङ, ट्यागिङ गरिन्छ । सोभन्दा कम मोटाइ भएका रूखलाई लाथ्राका रूपमा लिइन्छ । हालसम्म २५ हजार ६०० वटा रूखमा नम्बरिङ, ट्यागिङ गरिसकिएको छ । ३२ सेन्टिमिटरदेखि ९४ सेन्टिमिटर गोलाइ भएकालाई पोल र गोलाइकारूपमा गणना हुने वन कार्यालयले जनाएको छ । यसरी गणना गरिएको वन क्षेत्रमा अधिकांश साल प्रजातिका रूखबिरुवा छन् ।
निर्धारित क्षेत्रफलमा कार्य सम्पन्न हुन एक वर्ष लाग्ने र सो कार्यको लागि २ करोड ७५ लाख रकम खर्च हुने अनुमान छ । विमानस्थल निर्माणका लागि रूख कटान गर्नुपर्ने भएपछि ठूलो परिमाणमा रूख काटिन हुन्न भन्दै वातावरण विज्ञहरूले विरोध पनि गर्दै आएका छन् ।