प्रस, जनकपुरधाम, २८ साउन/
जनकपुरधामका पूर्वप्रमुख कृष्ण गिरीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
जनकपुरस्थित होटेल रामाका सञ्चालकसमेत रहेका गिरीको मङ्गलवार राति काठमाडौंस्थित मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । बितेको तीन सातादेखि उनको मेडिसिटी अस्पतालमा उपचार चलिरहेको थियो । स्थिति झन् बिग्रँदै गएपछि सातादेखि भेन्टिलेटरमा उपचार गराइरहेका थिए ।
७२ वर्षीया गिरीलाई हल्का ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि हेलिकप्टर चार्टर गरी काठमाडौं लगिएको थियो । पूर्वनगरप्रमुख गिरीलाई मुटुसम्बन्धी समस्या र उच्च रक्तचापका कारण बचाउन नसकेकोे उनका छोरा डा सन्तोष गिरीले बताएका छन् । उपचार गर्न अस्पताल भर्ना भएकै समयमा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । स्व गिरीले २०४२ सालमा चुनाव जितेर ४ वर्षसम्म जनकपुरको प्रमुख बनेका थिए । २०४६ को जनान्दोलनपछि मात्रै उनी राजनीतिबाट ओझेलमा परेका हुन् ।