प्रस, पंचगावाँ, २८ साउन/
जीराभवानी गाउँपालिकाको थरुहट सडकखण्ड प्रायः अवरोध हुने गरेको छ ।
गापाको कार्यालय सेढवा र इलाका प्रहरी कार्यालय सेढवादेखि जीराभवानी मन्दिर र महादेवपट्टि बलुवासम्मको थरुहट सडकखण्डमा माटो मात्र बिछ्याइएको कारण अवरुद्ध हुने गर्छ । वर्षापछि लामो समयसम्म बाटो हिलाम्य हुने भएकोले यो सडकखण्डबाट आवागमन प्रभावित हुने गरेको छ । यसपटक त यो सडक नियमितरूपमा अवरोध हुने गरेको छ ।
चैतदेखि लकडाउन शुरू भएपछि यस वर्षको मौसममा पनि व्यापक परिवर्तन भई प्रत्येक साता वर्षा हुने गरेकोले सडकमा आवतजावत ठप्प भएको छ । वीरगंज–ठोरी र हुलाकी सडक जोडिने सडक भएकोले यहाँबाट सवारी साधनहरूको नियमित आवागमन हुने गर्छ । तर अहिले यो सडकखण्डबाट सवारीसाधनहरू गुड्न निकै समस्या झेल्नुपरेपछि अन्यत्र सडकखण्डको प्रयोग हुने गरेको छ । कच्ची सडकमा पानी पर्दा हिलाम्य हुने र सवारीसाधनहरू सञ्चालन हुन नसक्ने भएपछि अन्यत्र सडकको प्रयोग बढेको छ ।
सडक हिलाम्य भएपछि जीराभवानी गापाले एक महीनाअगाडि मर्मत गराएको थियो । तर माटो हालेर सडक सम्याउने काम गरिएकोले वर्षाले सडक हिलाम्य बनाउने र आवतजावतमा समस्या हुने यथावत् छ ।
गापा उपप्रमुख उषा चौधरीले नियमित वर्षाले गर्दा एक महीनाअगाडि मात्र मर्मत गरेको सडकखण्ड टिकाउ हुन नसकेको बताइन् । उनले वर्षा रोकिनासाथै सडक मर्मत गराउने प्रतिबद्धता गरेकी छन् । खासगरी कोरोना सङ्क्रमणको बेला यो क्षेत्रमा एम्बुलेन्स सेवा प्रभावित हुँदा समस्या बढेको छ । यस क्षेत्रका मानिसहरूले अर्काे वैकल्पिक सडकको प्रयोग गरे पनि एम्बुलेन्सले भने लामो दूरी तय गर्नुपर्दा बिरामीले समयमा उपचार नपाउने समस्या छ । साथै अन्यत्रका वैकल्पिक सडकहरूको पनि वर्षायाममा भर नहुने चालकहरूको भनाइ छ । यसैगरी, किसानहरूलाई पनि यो सडक भएर खेत खलियानसम्म पुग्न समस्या हुने गरेको छ । सडकको दुरवस्थाले यो सडकखण्डबाट मोटरसाइकलबाहेक अन्य सवारीसाधन सञ्चालन हुन छाडेका छन् ।