गरीबको लागि क्रुर बन्दैछ कोरोना

195

-सञ्जय साह मित्र

कोरोना कहरको सङ्क्रमण समय लम्बिंदै जादा अतिविपन्न समुदायमा यसको भयावह असर देखिंदैछ । यसका केही प्रारम्भिक लक्षणका केही दृष्टान्त प्रथमतः यहाँ प्रस्तुत छ ।
➤ एकजनाले आफ्नो घरको तल्ला थप्ने निश्चय गरेपछि नजीकका ठेकेदार मिस्त्रीलाई खबर गरे । सामानजति आफूले दिने र शर्त अनुसार बनाउने काम ठेकेदार मिस्त्रीले गर्ने सामान्य प्रचलन अनुसार खबर गरेका थिए । मिस्त्री आए तर कुरा मिलेन । सामान्य अवस्थामा मिस्त्रीले पाँच लाख रुपैयाँमा लिनुपर्ने ठेक्का मिस्त्रीले पाँच लाख रुपैयाँ नै भने तर एक/दुई दिनमा कैयौं मिस्त्री घर बनाउन खोज्नेकहाँ पुगे । मिस्त्रीमा नै यति धेरै प्रतिस्पर्धा हुन पुग्यो कि घटाघटीमा साढे तीन लाख रुपैयाँमा एकजना मिस्त्रीले हात पारे ।
➤ घर बनाउने काम शुरू गरेपछि हरेक दिन दैनिक ज्यालादारीमा काम गर्न चाहने मजदूरहरू मिस्त्रीलाई काममा लगाउन भनिरहेका छन् । ठेक्कामा लिएको मिस्त्री आफ्नै घरमा तीनजनाले र एकजना मजदूर राखेर सबै काम आफैंले गरिरहेका छन् । अरू कुनै काम नभएकोले आफैंले सबै काम गरिरहेका छन् । अरू बेला दिनको छ/सात घण्टा काम गर्ने मिस्त्रीहरू आफैंले काम गर्नुपर्ने र समयमा काम सम्पन्न गर्नुपर्ने भएकोले दिनको बा-हदेखि ते-ह घण्टासम्म खटिइरहेका छन् तर मजदूरलाई राख्न खोजिरहेका छैनन् । पहिले सात सय रुपैयाँमा नपाइने मजदूरहरू आफैंले चार सय रुपैयाँमा काम गरिदिन्छु भनिरहेका छन् । पहिले बिहान दशदेखि पाँच बजेसम्म काम गर्ने मजदूरहरू आफैंले बिहान आठदेखि बेलुकी आठ बजेसम्म काम गरिदिन्छु भनिरहेका छन् ।
➤ एकजना किसानले दुई/तीन वटा भैंसी पालेका छन् । कम्तीमा एउटा दुहुनो सधैं हुन्छ । अलिकति दूध आफ्नो घरमा राखेर बाँकी दूध सधैं बेच्ने गर्दछन् । नजीकको बजार क्षेत्रमा असी रुपैयाँ प्रतिलिटर दूधको लिन थालिसकेका थिए तर कोरोनाको कहरले दूधको माग घटेको छ । अहिले साठी रुपैयाँ प्रतिलिटर आफूले दूध नबेचे अरू नै पु-याउन जान्छन् । गाउँमा पहिलेको तुलनामा दूध र दहीको खपतमा कमी आएको छ । दूधको खपत कम भएर दूधको उपलब्धतामा वृद्धि हुँदा भाउ कम भएको छ ।
➤ घर खर्चको लागि एकजनाले ऋण लिएका थिए । चैत–वैशाखमा ऋण तिर्ने विचारमा थिए । चैतमा लकडाउन शुरू भयो । त्यसपछि काम कतै गर्न पाएका छैनन् । घरपरिवार चलाउनै परेको छ । ऋणको ब्याज पनि निरन्तर बढ्दै जाँदा उनले आफ्नो खेत बेच्ने विचार गरिरहेका छन् । खेत बेचेर ऋण तिर्ने र केही रकम उब्रेमा त्यसबाट जीविकोपार्जनमा सहयोग पु-याउने विचारमा छन् । खेतको भाउ पनि पहिलेको जस्तो पाइने हो कि नपाइने हो भन्ने चिन्ता छ ।
➤ स्थानीय एउटा उद्योगमा पल्लादारीको काम गर्ने पल्लादारलाई केही हप्ता उद्योग बन्द गर्ने हुँदा नआउन भन्दा आफूहरू भोकै मर्ने बताए । उद्योग नै बन्द गर्ने भएपछि कहाँ काम गर्ने भन्ने उद्योगपतिले बताउँदा पल्लादारको भनाइ थियो– घरमा पनि भोकै मर्नुपर्छ, बरु यही उद्योगको बाहिर आएर कर्मथलोमा नै भोकभोकै मर्नुपर्ला । आफ्नो त केही उपाय छैन ।


➤ यातायात सञ्चालन भएको र अवस्था सामान्य भएको बखत यातायातको साधनमा सामान चढाउने र सामान झार्ने पल्लादारहरू करीब पूर्णतया बेरोजगार भएका छन् । अलिअलि खाद्यान्न सामग्री र किरानाका सामानको ढुवानी भएको छ तर सम्बन्धित मान्छेका आफ्नै पल्लादारबाट काम चलाएको देखिन्छ । एकजना पल्लादारले बताए– हातमुख जोर्न पनि समस्या भयो । दैवले हामी गरीबलाई अझ कहिलेसम्म सताउने होला ?
➤ गाउँमा सधैं अर्काको खेतबारीमा काम गर्ने केही कृषि मजदूर हुन्छन् । ती मजदूरहरूलाई अहिले नै धौधौ पर्न थालेको छ । सरकारले राहत नदिने हो भने कसरी गर्ने होला ? भनेर प्रश्न गर्न थालेका छन् ।
➤ एनजिओमा काम गर्ने एकजनालाई कोरोना सङ्क्रमणको अवधिको तलब नदिने बताइसकेको छ । एनजिओले कुनै काम नै गर्न नपाएको तथा कतैबाट कुनै कार्यक्रम नआउने भएकोले सम्भवतः फेरि काममा बोलाउने सम्भावना नरहेको पनि बताइसकेको छ । एनजिओमा काम गरेको भरमा घरपरिवार चलाइरहेका तिनलाई विगतमा कहिल्यै नभएको पीडा भइरहेको छ ।
➤ घरबाट छुटिएर रहेका एक युवक संस्थागत विद्यालयमा पढाउँछन् । भाडामा बस्दै आएका छन् । बिहान र बेलुकी ट्युशन पनि पढाउने काम गर्छन् । विगत दश वर्षदेखि यही पेशामा आफूलाई राम्रो ठानेका शिक्षकको पेशा नै सुकेको छ । विद्यालय बन्द छ । असारसम्म आधा तलब दियो । ट्युशन पनि बन्द छ । अब कसरी बाँच्ने भन्ने समस्या अगाडि उभिएको छ । यस्तै एक सामुदायिक विद्यालयमा नगरपालिकाले पठाउने पैसाको भरमा निजी स्रोतमा तलब बुझ्दै आएका एक शिक्षकलाई नगरपालिकाले यसपालि बजेट उपलब्ध नगराउने निश्चित भएको भनी अब विद्यालय खुले पनि नआउन भनिसकेको छ ।
➤ भारतको एउटा शहरमा रोजगार गरिरहेका एक युवक लकडाउनसँगै गाउँ फर्केका थिए । आरम्भको एक/दुई महीना उनको खानगी र रहनसहन त निकै गुणस्तरीय थियो तर पैसा सकिंदै गएको र फेरि फर्किन पाउने आशा कम हुँदै गएपछि कठिन परिस्थितिको सामना गर्नुपरिरहेको छ । राम्रो लाउने र बिहान बेलुका राम्रै खाने तथा गाउँको सामान्य जीवनभन्दा शहरिया शैलीमा गाउँमैं गुणस्तरीय जीवन बिताउन थालेका ती युवकलाई अब कसरी जीवन धान्ने भन्ने समस्या आउन थालेको छ । शहरमा आफूले गरेको काम अनुसारको काम गाउँमा छैन र गाउँमा आफू अनुकूल कुनै काम छैन । आफ्नो अगाडि गम्भीर समय आउन थालेको उनको बुझाइ रहेको छ ।
कोरोनाको कहर बढ्दै गएपछि गाउँ समाजमा यस्ता अनगिन्ती उदाहरण भेटिन्छन् । कोरोनाले अहिले अब गाउँ समाजमा भान्सामा प्रभाव पार्न थालिसकेको छ । भान्सामा प्रभाव पर्नु भनेको जोखिमको दिन बढ्दै जानु हो । कतिपय परिवारले खानेकुरामा सजगता अपनाउन थालेका छन् । सामान्य अवस्थामा जे र जति खानेकुराको साधन पु-याउँथे, अहिले कटौती गर्न थालेका छन् । आयआर्जनको नयाँ स्रोत खोज्न सकेका छैनन् । झन् पहिलेभन्दा आय कम भएको छ । कतिपयको त आम्दानी नै सुकेको छ । कस्तो परिस्थितिको सिर्जना भएको छ भने जतिसुकै कष्टकर समयमा पनि आधारभूत आवश्यकतामा कुनै कमी गर्न सकिंदैन ।
घर निर्माणमा इँटाको जोडाइ गर्ने एकजना सामान्य मिस्त्री विगत पाँच महीनादेखि फाट्टफुट्ट रोजगार पाउँदै आएका छन् । गत वर्ष खेत किन्दा करीब एक लाख ऋण लिएको र सोही ऋण तिर्न कमाएर जम्मा गरेको करीब पचास हजार रुपैयाँ पनि यस पाँच महीनामा जति जोगाएर खर्च गरे पनि सकिएको छ । अहिलेसम्म सम्पूर्ण ऋण नै ब्याजसमेत तिर्ने लक्ष्य लिएका मिस्त्रीले ब्याज पनि तिर्न पाएनन् । काम नपाउँदा पनि तीन साना छोरा, एक छोरी र पत्नीसहितको परिवारको खर्च धान्न जीवनको सबैभन्दा ठूलो सकस परेको बताउँछन् । जीवनमा यति गा-हो पनि पर्न सक्छ भन्ने कल्पना नै आफूले नगरेको तर यथार्थमा भोग्नुपरिरहेको उनी बताउँछन् । बालबच्चालाई सरकारी विद्यालयमा राम्ररी पढाउँदै आएका ती मिस्त्रीको एक्लैको आयले गाउँको जीवनमा सबै व्यवहार धानेर पनि केही बचत हुँदै आएको थियो तर लकडाउन भएदेखि आफ्नो काममा पनि लकडाउन भएको र आयमा पनि लकडाउन भएपछि अति नै कष्टकर दिन आउन लागेको बताउँछन् । अब त यस्तै दिन रह्यो भने ऋण लिएर घर व्यवहार धान्ने अवस्था आउन थालेको सुनाउँछन् ।
गाउँघरमा सर्वसाधारण निम्न वर्गको हातबाट रुपैयाँ हराउन थालेको छ । काम छैन तर खर्च भने मान्दैन । आजभोलि गाउँ समाजमा पनि वस्तु विनिमयको प्रचलन हराउँदै गएको छ । अहिले हातबाट नगद हराउन थालेपछि भने फेरि विपन्न परिवारमा वस्तु विनिमय मौलाउँदै गएको छ । वस्तु विनिमय मौलाउँदा गरीबको घरबाट अन्नपात कम हुुनु हो अर्थात् खर्चको धेरै भार घरमा राखिएको अन्नमाथि पर्नु हो । यसले गर्दा खानलाई राखिएको अन्न पनि छिटै सकिने सम्भावना हुन्छ । यसले फेरि थप समस्या र जटिलता निम्त्याउने डर पनि छ । यसले गर्दा ग्रामीण गरीब परिवारमा भविष्यमा कतै ठूलो समस्या आउने त होइन भन्ने चिन्ता अहिलेदेखि नै लाग्न थालेको छ । घरपरिवारमा केही नयाँ काम वा कुरा गर्ने अर्थात् केही जोरजाम गर्ने सम्भावना त बिल्कुलै कम भएको बरु आफ्नो सामथ्र्य नै कमजोर हुने हो कि भन्ने चिन्ता थपिंदै गएको छ । दिन प्रतिदिन सञ्चित रुपैयाँ तथा अन्न अर्थात् धन कम हुँदै गएको वर्तमानले गरीब श्रमिक परिवारको अभिभावकमा भने भविष्यको चिन्ता थपिंदै गएको अवस्थामा कोरोनालाई गाली गरेर आत्मरति लिइरहेका छन् । अन्य कुनै विकल्प नदेख्दा कोरोनालाई सरापेर थोरै भएपनि मानसिक सन्तुष्टि लिने काम भने गरिरहेका छन् ।
कोरोनाको कहरले विपन्न परिवारका लागि साँच्चै क्रुर समय ल्याउँदैछ । कोरोना प्रभावको प्रहार नै विपन्न परिवारको लागि क्रुर बन्दैछ । अतिविपन्न समुदाय निरुपाय बन्दैछ । कतै जानै नसक्ने र केही गर्नै नसक्ने अवस्थामा कोरोनाको समयले गरीब परिवारलाई पु-याएको वर्तमानमा यथार्थको धरातलमा तीन तहको सरकारले केही सोच्नै पर्ने भएको छ । जतिसुकै विपन्न परिवार भएपनि चाडपर्व हुन्छ, मेला पर्व हुन्छ । हाटबजार हुन्छ । थोरै भएपनि समाजमा आफ्नो अस्तित्व कायम राख्नुपर्ने हुन्छ । परपाहुना हुन्छन् । घरपरिवारमा बिरामी पर्ने पनि हुन्छ, औषधि उपचार गर्नुपर्ने हुन्छ । अति नै साना बालबालिका तथा वृद्धवृद्धा पनि हुन्छन् । सबैका इच्छा र चाहना पनि पूरा नगरी हुँदैन । नयाँ नौलो खानुपर्ने हुन्छ ।
अझ वर्तमान परिवेशमा त ‘इम्युनिटी पावर’ बनाइराख्नुपर्ने गरी खाना तथा रहनसहन हुनुपर्ने धेरैको भनाइ रहेको छ । ताजा र सन्तुलित खाना खानुपर्ने पनि बताइन्छ । स्वस्थ रहनुपर्ने बाध्यतात्मक अवस्थालाई पनि नजरअन्दाज गर्न सकिन्न । बिहान खाँदा बेलुका के खाने र बेलुका खाँदा बिहान के खाने समस्यामा रहेका विपन्न समुदायको परिवारलाई पनि कोरोनाबाट जोगिनु छ । कोरोना नै नलागे पनि यस प्रकारको परिवारको लागि कोरोनाको कहर आफैंमा क्रुर प्रहार भएको छ । हरेक दिन छटपटीमा बितिरहेको छ । कहिलेसम्म कोरोनाको यस प्रकारको अवस्था रहने निश्चित नभएकोले झन् पीडा भएको हो । यति हुँदाहुँदै पनि कोरोनाबाट मानव समुदायले एक दिन विजय प्राप्त गर्ने आशारूपी उज्यालो दिनको सपना भने देखिरहेका छन् । आशाको यो दीप निभ्नुहुँदैन, निभ्न दिनु पनि हुँदैन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्