कोरोना नियन्त्रण कसरी गर्ने

191
-डा रोशन कुर्मी

हालको अवस्थामा समुदायस्तरमा फैलिएको कोरोना नियन्त्रण गर्न हामी सबै मिलेर मात्र आफ्नो परिवार र समुदायलाई यस महामारीबाट बचाउन सक्छौं । हामी सचेत भएनौं र गल्तीहरू गर्दै गयौं भने भोलि आफ्नो घरपरिवारलाई कोरोना सङ्क्रमण भएमा घरमैं रुनुबाहेक कुनै उपाय छैन । जानीनजानी अहिलेसम्म गरेका गल्तीबाट सिक्नुपर्ने बेला आएको छ । यस रोगबाट हाम्रो समाजमा देखिएको मृत्युको मुख्य कारण सही समयमा सही उपचार नपाएर भएको देखिन्छ ।
लकडाउनको पहिलो दिनदेखि नै मैले निरन्तर अस्पतालमा बिरामीहरूको उपचार गर्दै आएको हुनाले, मैले बुझेको, देखेको र गर्नुपर्ने कुराहरू यहाँ राखेको छु । प्रत्येक दिन मैले ४०–५० जनाभन्दा बढी ओपिडीका बिरामी र त्यही सङ्ख्यामा भर्ना भएका बिरामीको उपचार गर्दै आएको छु । शायद त्यसमा कतिजना कोरोना सङ्क्रमित बिरामी पनि होलान् । धेरैपटक त बिरामीको कोरोना रिपोर्ट कुर्दाकुर्दै निमोनिया ठीक भएर छुट्टी गर्ने बेलामा रिपोर्ट पोजेटिभ आएको देखिन्छ । २० भन्दा बढी बिरामीको सकुशल उपचारपश्चात् रिपोर्ट पोजेटिभ आएको देखिएको छ । अहिले पनि मेरो सम्पर्कमा घरमैं आइसोलेशनमा बसेर २०–३० जनाभन्दा बढी बिरामी उपचाररत छन् । दिनहुँ १० जनाभन्दा बढी कोरोना शङ्कास्पद निमोनिया भएका बिमारीहरू शय्या नपाएर र समयमा पिसिआर परीक्षण रिपोर्ट नपाएर भौंतारिरहेका छन् । कुनै अस्पतालले शय्याको अभावमा होस् वा कुनै अस्पतालले आफ्नो चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित हुने डरले रुघाखोकी र निमोनियाका बिरामीलाई उपचार गर्न मानिरहेका छैनन् ।
हुन सक्छ मलाई यो सङ्क्रमण भएर म भित्रभित्रै ठीक पनि भइसकेको हुन सक्छु । मसँग दिनरात आफ्नो ज्यानको बाजी लगाएर खट्ने स्वास्थ्यकर्मीहरूलाई यही आश्वासन दिन्छु कि कोरोना लाग्दैमा ज्यान जाने होइन तर सही समयमा उपचार पाइएन भने ज्यानको जोखिम हुन सक्छ । लुकेर, भागेर बच्ने अवस्था पनि छैन, यदि हामी कसैलाई यसको लक्षण देखिएमा भोलि हामी आफ्नो उपचार आफैं गर्न सक्षम हुनुपर्छ । यस्तो परिस्थितिमा एकजुट भएर यो महामारीसँग लड्नुको विकल्प पनि छैन । बरु हामी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी उच्च मनोबलका साथ सावधानीपूर्वक आपसी समन्वय बनाएर अघि बढेमा रोगसँग लडेर जीत हासिल गर्न सकिन्छ ।
कोरोना सङ्क्रमित १५ देखि २० प्रतिशतलाई मात्र लक्षण देखिने हुनाले प्राथमिकताका साथ यी बिरामीहरूलाई पहिला जाँच र उपचार गर्न जरुरी छ । ६ महीनादेखि हामीहरूले जे ग-यौं, त्यसले मात्र अब यो महामारीलाई रोक्न सकिंदैन । १५ देखि ५० वर्षका स्वस्थ मानिसमा यो रोगले धेरै असर नगर्ने हुनाले उच्च सतर्कताका साथ अत्यावश्यक काममा यो समुदायले काम गर्नुपर्ने जरुरी देखिन्छ । जो मानिस सङ्क्रमण भई ठीक भइसकेका छन्, तिनीहरूलाई समुदायस्तरमा आफ्नो क्षमता अनुसार देश र जनताको लागि काम गर्नु गराउनुपर्ने जरुरी देखिन्छ ।
सात महीना बितिसक्दा पनि पर्सा जिल्लामा अहिलेसम्म कोरोना महामारीको लागि १००० भन्दा बढी शय्याको अस्पताल तयार गर्न नसक्नु, आइसियू र भेन्टिलेटरको व्यवस्था गर्न नसक्नु ठूलो कमजोरी हो । एकमात्र सरकारी सुविधासम्पन्न नारायणी अस्पताल पनि निरन्तर सञ्चालनमा ल्याउन नसक्नु अर्को कमजोरी हो । ती कमजोरीलाई आजैदेखि अविलम्ब सुधार गरी सञ्चालन गर्नुपर्ने देखिन्छ ।


शिक्षा, स्वास्थ्य र रोजगारमा सबैभन्दा कमजोर, जनसङ्ख्या, जनघनत्व र रोगमा सबैभन्दा अब्बल प्रदेश नं २ मा भएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले मात्र यो महामारी नियन्त्रण गर्न सक्दैनन् । केन्द्र र प्रदेश सरकारले मिलेर मात्र अहिलेको अवस्थालाई नियन्त्रण गर्न सक्छ । यस घडीमा प्रदेशमा भएका मेडिकल कलेजहरूले जनताको जीवनरक्षाका लागि ठूलो योगदान गर्न सक्छन् । तसर्थ तत्कालको लागि मेडिकल कलेज प्रशासनसँग समन्वय गरेर स्वास्थ्यकर्मी र चिकित्सकहरू व्यवस्थापन गरी यस कठिन परिस्थितिमा सबै एकजुट भएर देश र जनताको हितका लागि चाँडै अगाडि बढ्नुपर्ने देखिन्छ ।
कोरोना नियन्त्रण गर्न लक्षणसहितका बिरामीको तुरुन्त जाँच गरेर सङ्क्रमण भए नभएको छुट्याएर कोरोना/कोरोनाइतर अस्पताल मिली एकजुट भएर काम गर्नुपर्ने देखिन्छ । त्यसको लागि २ नं प्रदेशको एकमात्र केन्द्रीय अस्पताल नारायणी अस्पतालमा ज्वरो र रुघाखोकी क्लिनिक आजैदेखि सञ्चालन गर्ने र पिसिआर परीक्षणपश्चात् कोरोना सङ्क्रमण नभएका अन्य बिरामीलाई यहाँ भएका सम्पूर्ण अस्पतालमा भर्ना गर्नुपर्ने, सङ्क्रमण भए कोभिड अस्पतालमा उपचारको लागि पठाउनुपर्छ । आफ्नो क्षमता र दक्षता अनुसार सबै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले उच्च सतर्कता अपनाइ आफ्नो सेवा अविलम्ब सुचारु गर्नुपर्ने देखिन्छ । यसमा खट्ने स्वास्थ्यकर्मीको लागि सके स्वास्थ्य संस्था आफैंले, नसके सरकारी सहयोगमा स्वास्थ्यकर्मीका आफ्नो घरपरिवारमा सङ्क्रमण हुन नदिन क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने देखिन्छ ।
कोरोना नियन्त्रणका लागि सबैभन्दा जरुरी कार्य जाँचको दायरा बढाउनु हो । कन्ट्याक्ट ट्रेसिङमा परेका र क्वारेन्टाइनमा रहेका सबैको जाँच गर्नु जरुरी छ । त्यसभन्दा जरुरी ज्येष्ठ नागरिक, गर्भवती महिला, बच्चा, अन्य दीर्घरोगीलाई छ । त्यसैले समुदायस्तरमा जाँच गर्नुभन्दा पहिला यी बिरामीहरूको जाँच गर्न जरुरी छ । लक्षण नभएकाभन्दा लक्षण भएकाले बढी मात्रामा रोग सार्न सक्ने भएकाले प्राथमिकता अनुसार पहिला यस्ता बिरामीको जाँच गरियो भने हामीले समुदायलाई बचाउन सक्छौं ।
सङ्क्रमित र अन्य रोगका बिरामीलाई एउटै अस्पतालमा राखेर उपचार गर्दा अरू बिरामी र स्वास्थ्यकर्मीमा सङ्क्रमण फैलिने खतरा भएको हुनाले यस्ता बिरामीलाई छुट्टै उपचार गर्नुपर्ने देखिन्छ । नभए भोलि सबै स्वास्थ्यकर्मीमा सङ्क्रमणको खतरा बढ्नेछ ।
कोरोनाइतर अस्पतालमा शङ्कास्पद सङ्क्रमित देखिएमा नारायणी अस्पतालको पिसिआर परीक्षणको लागि स्वाब सङ्कलन गर्ने टीमले तुरुन्तै स्वाब सङ्कलन गरी चार घण्टाभित्र रिपोर्ट दिने गरी व्यवस्था मिलाउनुपर्छ । त्यति बेलासम्म शङ्कास्पद बिरामीलाई आइसासेलेशनमा राखी सम्बन्धित अस्पतालले उपचारको व्यवस्था मिलाउनुपर्छ । यस अवधिमा चाहिने पिपिई, मास्क, पञ्जा बिरामी आफैंले व्यवस्था गर्नुपर्छ वा सम्भव भए राज्य सरकारले व्यवस्था गरिदिनुपर्छ ।
यस घडीमा अन्य दीर्घरोगीको उपचारमा कमी नहोस् भनेर सावधानीपूर्वक सबैले ओपिडी चलाउनुपर्ने देखिन्छ । जसले गर्दा समयमैं उपचार पाएर अरू रोग बढ्न पाउँदैन । स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ चाहिएको स्वास्थ्य सामग्री र सुरक्षा उपलब्ध गराएर यस घडीमा एकजुट भएर सबैले अफ़्नोतर्फ़बाट जनताको स्वास्थ्यको लागि खटेर काम गरेको भए शायद यो अवस्था आउने थिएन ।
कोरोना लाग्दैमा मर्ने होइन । त्यसैले कोभिड अस्पतालमा लक्षण भएका र घरमा आइसोलेशनमा बस्न नसक्नेलाई मात्र भर्ना गरी लक्षणरहितलाई घरमैं राख्ने व्यवस्था मिलाउनुपर्छ । जसले गर्दा लक्षण भएका, निमोनियाबाट सङ्क्रमित भएका र अक्सिजनको कमी भएका बिरामीलाई तुरुन्त कोभिड अस्पतालमा भर्ना गरेर सही उपचारको व्यवस्था मिलाउन सकिन्छ ।
जिल्ला प्रशासन कार्यालयले हरेक स्वास्थ्य संस्थामा भीड नियन्त्रण गर्न, स्वास्थ्यकर्मीको मनोबल बढाउन, जनसमुदायमा सचेतना फैलाउन ठूलो भूमिका निर्वाह गर्न सक्छ ।
यस समयमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी उच्च जोखिममा छन् र दिनहुँ सङ्क्रमित भइरहेका छन् । तर हामीले के बुझ्नुपर्छ भने सङ्क्रमित भएको १५ दिनपछि हामी अवश्य ठीक हुनेछौं । तर हामीले आफ्नो कर्तव्य पूरा गरेनौं भने शायद ज्येष्ठ नागरिक, गर्भवती महिला, बच्चा र अन्य दीर्घरोगीका साथै अग्रपङ्क्तिमा आफ्नो ज्यानको जोखिम मोलेर अहोरात्र खटेका स्वास्थ्यकर्मीलाई गुमाउनेछौं ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्