नरेश यादव, पर्सागढी, २७ साउन/
श्रीकृष्णा जन्माष्टमी पर्व यस वर्ष औपचारिकरूपमा घरमैं मनाइयो । वीरगंजको सबैभन्दा पुरानो वीरगंज–४ बिर्तास्थित कृष्णमन्दिर पनि सुनसान रह्यो । सामान्य तरीकाबाट स्थानीय केही महिलाले बाहिरबाटै पूजाआजा गरे ।
यसैगरी, गीतामन्दिरमा पनि जन्माष्टमीमा पूजाआजा निकै धूमधामका साथ गरिन्थ्यो तर यस वर्ष भएन । निषेधाज्ञा र कोरोना सङ्क्रमण समुदायस्तरमा पैmलिएको त्रासले महिलाहरूले घरबाहिर निस्किएर पूजाआजा गर्ने साहस देखाएनन् ।
श्रीकृष्णा जन्माष्टमीको अवसरमा खासगरी गोपाल सेवा समिति, वीरगंजले ६ दिने कार्यक्रम गरी धूमधामले मनाउँथ्यो । तर यसपटक कोरोना सङ्क्रमण समुदायस्तरमा पैmलिएको र सरकारले मन्दिर, मस्जिद, चर्च बन्द गरेका कारण जन्माष्टमी पनि प्रभावित भएको हो । श्रीकृष्ण भगवान् जन्मेको दिनदेखि छठियारसम्म गोपाल सेवा समितिले वीरगंजका दुई स्थानमा धूमधामका साथ पर्व मनाउँदै आएको थियो । गोपाल सेवा समितिका किशोरी यादवले जन्माष्टमी पर्वको अवसरमा साउन ३० गते रक्तदान कार्यक्रम मात्र आयोजना गरिने बताए ।
पर्साका ग्रामीण क्षेत्रका कृष्णमन्दिरहरूमा भने बर्तालु महिलाहरूले एकाबिहानै पूजाआजा गरेका थिए । निषेधाज्ञाको कारण पूजापाठमा अवरोध गरिने भयले उनीहरूले जन्माष्टमीको पूजा एकाबिहानै सम्पन्न गरेका हुन् । यसअघि बर्तालुले मध्याह्नमा पूजापाठ गर्थे ।
बलिराम शुक्ला, बिरुवागुठी/
कोरोना भाइरसको सङ्क्रमणको कारण यस वर्षको श्रीकृष्ण जन्माष्टमी प्रभावित भयो । पर्सागढी नगरपालिका–३ पकडिया बढनिहारमा विगत लामो समयदेखि धूमधामका साथ मनाइने जन्माष्टमी पर्व यस वर्ष खल्लो भयो । भजनकीर्तन, पूजापाठ गर्न नहुने र भीडभाड गर्न निषेध गरिएका कारण पर्व नमनाइएको हो । चैत ११ गते पहिलो चरणको लकडाउन शुरू हुँदा बन्द गरिएका मन्दिरहरू अहिलेसम्म खुला नगरिएका कारण जन्माष्टमी पर्व मनाइएन ।
बजार व्यवस्थापन समितिका कोषाध्यक्ष अजय चौधरीले बडनिहारमा ३५ वर्षदेखि जन्माष्टमी पर्व धूमधामले मनाइँदै आएको तर यस वर्ष कोरोना सङ्क्रमणले रोकिएको बताए । यसैगरी, जन्माष्टमीको पूजा धूमधामका साथ गरिने बर्वाटाँडी, रामटोल, रङ्गपुरलगायतका कृष्णमन्दिरहरूमा पनि चहलपहल कम रह्यो ।