राधेश्याम पटेल, वीरगंज, २७ साउन/
वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाहमा रोकिएको २७ कन्टेनर सुपारीको जाँचपास हुन थालेको छ । विगत एक सातादेखि रोकिएको सुपारीको जाँचपास हुन थालेको श्रीसिया सुक्खा बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले बताए । सरकारबाट नीतिगत निर्णयसहितको निर्देशन आइसकेपछि सुपारी छुट्न थालेको उनले जानकारी गराए ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउन १२ गते राजपत्रको भाग ५ मा सूचना निकाल्दै गत चैत १६ गतेअगावै चलान (सिपिङ) भइसकेका सामानमा सुपारी
आयातमा बन्देज लगाउने व्यवस्था लागू नहुने भन्दै सो अवधि पहिले चलान भएका सामानको जाँचपास नरोक्न भन्सार कार्यालयहरूलाई परिपत्र गरेको थियो ।
यसअघि नेपाल सरकारले निकासी पैठारी नियन्त्रण ऐन २०१३ को दफा ३ को उपदफा (१)ले दिएको अधिकार प्रयोग गरी खण्ड ५९, सङ्ख्या ५२ अनुसार चैत २४ गते
सूचना प्रकाशित गर्दै सुपारी पैठारीमा पूर्ण बन्देज लगाएको थियो । तर सोही दफाको २ ले दिएको अधिकार प्रयोग गर्दै १६ चैत अगाडि चलान भएका सामानको जाँचपास गर्ने निर्णय भएको हो ।
वीरगंजका उद्योगीहरूका अनुसार सरकारको अव्यावहारिक नीतिको कारण व्यवसायीलाई लाखौं घाटा लागेको र बेकारमा सास्ती खेप्नुपरेको बताएका छन् । वीरगंज उद्योग वाणिज्य सङ्घका महासचिव माधव राजपालले वीरगंजका करीब ६ वटा व्यावसायिक फर्मका कन्टेनर तीन महीना होल्ड हुँदF करीब २५ लाख रुपैयाँ विलम्ब शुल्क तिर्नुपरेको पीडा पोखे ।
सरकारको बन्देजको कारण वीरगंजको मुदित इन्टरनेशनलको ३ कन्टेनरमा ५२ टन, ओमवीर ओभरसिज प्रालिको एउटा कन्टेनरमा १८ टन,
मेथी एशोसिएट प्रालिको २ कन्टेनरमा ३६ टन, भीमकृष्ण इन्टरनेटनल प्रालिको १५ कन्टेनरमा २६१ टन, नाम नखुलेको एउटा फर्मको ६ कन्टेनरमा १०५ टन सुपारी सुक्खा बन्दरगाह भन्सारमा होल्ड भएको थियो । त्यसमध्ये केहीको जाँचपास भइसकेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here