प्रस, मकवानपुर, २७ साउन/
मकवानपुरमा मङ्गलवार राति १२ बजेदेखि अनिश्चिनकालीन निषेधाज्ञा शुरू भएको छ । हेटौंडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र र मनहरी राजमार्ग
क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडा नगर क्षेत्रमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि जिल्ला सुरक्षा समिति मकवानपुरको बैठकको निर्णय अनुसार उपमहानगर पालिकाको क्षेत्रदेखि पाँच सय मिटर आसपासका क्षेत्र र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरिएको मकवानपुरका
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताएका छन् । निषेधाज्ञा अवधिमा सो क्षेत्रको राजमार्गमा अति आवश्यकबाहेक कुनै पनि सवारी चल्न नपाउने भएको छ । राजमार्गमा कडाइ गर्नका लागि मकवानपुर र बाराका सीमा क्षेत्र चुरियामाईस्थित राजमार्गमा र चितवन–मकवानपुरको सीमा क्षेत्र लोथरमा थप अस्थायी सुरक्षा पोस्ट खडा गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी गराएको छ ।
निषेधाज्ञ जारी गरिएको क्षेत्रमा आधिकारिक प्रमाणसहितको एम्बुलेन्स, दूध, तरकारी, खानेपानीका गाडी सञ्चालन गर्न सकिनेछ । त्यसैगरी, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, शववाहन, फोहोर व्यवस्थापन एवं दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षा निकायका सवारीले मात्रै आवागमन गर्न पाउने निषेधाज्ञाको सूचनामा उल्लेख छ ।
निषेधाज्ञा जारी क्षेत्रमा खाद्यान्न पसल, पेट्रोलपम्प, ग्यास डिपो, औषधिपसल खुला रहने र सोमध्ये खाद्यान्नको पसल बिहान ५ देखि ९ बजेसम्म खोल्न पाइने भएको छ ।
सरकारी तथा निजी कार्यालयहरू, गैरसरकारी, बैंक तथा वित्तीय संस्थाहरू एवं सहकारीबाट प्रदान हुने सबै सेवा बन्द गर्न जिप्रकाले आग्रह गरेको छ । उद्योग कारखाना भने कामदार तथा कर्मचारीलाई उद्योग परिसरको क्वारेन्टाइनमा राखेर सञ्चालन गर्न सकिने प्रजिअ नेपालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here