पोखरिया अस्पतालका चिकित्सकसहित वीरगंजमा थपिए २२ जना सङ्क्रमित

0
227

प्रस, वीरगंज, २६ साउन/
वीरगंजमा एकजना चिकित्सक, केही स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पताल कोभिड प्रयोगशालाले आइतवार राति जारी गरेको नतीजा अनुसार ६ महिलासहित २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले जानकारी दिए । सङ्क्रमित १८ वर्षका युवकदेखि ५० वर्ष उमेर समूहका महिला, पुरुष रहेका छन् ।
२२ जनामध्ये वीरगंज–१५ भेडियाहीकी ४५ वर्षीया मृतक महिलाको रिपोर्ट पनि पोजेटिभ आएको छ । उच्च रक्तचाप र हाइपोथाइराइडले पीडित ती महिलाको अचानक स्वास्थ्यमा समस्या आएपछि आइतवार बिहान उनको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । श्वासप्रश्वासमा अचानक समस्या देखिएपछि उनको कोरोना परीक्षण भएको र रिपोर्ट नआउँदै उपचारको क्रममा मृत्यु भएको गण्डक कोभिड अस्पतालका संयोजक डा उदयनारायण सिंहले जानकारी गराए ।
त्यसैगरी, पोखरिया अस्पतालका २५ वर्षीय चिकित्सक, सोही अस्पतालका २२ र २३ वर्षीय दुईजना स्वास्थ्यकर्मी, बारा घर भई नारायणी अस्पतालमा कार्यरत २० वर्षीया महिला स्वास्थ्यकर्मी पनि सङ्क्रमित भएका छन् । पोखरिया नगरपालिका वडा नं १ का अध्यक्ष बङ्काराउत कुर्मी, जिल्ला प्रहरी कार्यालय पर्साबाट सङ्कलन गरिएको २२, २६, २९ र ३५ वर्षीय चारजना व्यक्तिमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । त्यसैगरी, बारा, जीतपुरसिमरा उपमहानगरपालिका–२३ रामपुर टोकनीस्थित म्याग्नस फर्माका ३६ र ४० वर्षका दुईजना पुरुष र ४८ वर्षकी महिला मजदूरमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगंजका छपकैया, बिर्ता, श्रीपुर, आदर्शनगर, नगवालगायतका ११ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ ।
पर्सामा अब १ हजार ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने हालसम्म वीरगंजका विभिन्न अस्पतालमा उपचारको क्रममा २२ जनाको मृत्यु भएको छ, जसमा दुईजना भारतीय, एकजना बेवारिसे, एकजना रौतहट र दुईजना बाराका र बाँकी १८ जना पर्साका थिए । साउनको २५ दिनमा १८ जनाको मृत्यु भएको हो ।
पोखरिया अस्पतालको ओपिडी बन्द
प्रस, पोखरिया/

पोखरिया अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ । एकजना चिकित्सक, तीनजना स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि सोमवारदेखि ओपिडी सेवा बन्द गरिएको मेसु डा अनिल यादवले बताए । पोखरिया अस्पतालले ओपिडीबाहेक आकस्मिक र गाइनो सेवा भने यथावत् राखेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here