प्रस, वीरगंज, २६ साउन/
नेपाल विद्यार्थी सङ्घ पर्साका तीनजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा सोमवार बिहान धर्ना दिने क्रममा नेविसङ्घ पर्साका सभापति विकास तिवारी, उपाध्यक्ष शेष हजरा र ठाराब क्याम्पस एकाइ अध्यक्ष मनोज साह पक्राउ परेका छन् ।
वीरगंजका अस्पतालमा सामान्य बिरामीको उपचार नभएको र उपचारको अभावमा बिरामीको अकालमा मृत्यु भएको विषयमा उपचार नगर्ने अस्पताललाई कारबाई गर्न प्रमुख जिल्ला अधिकारीलाई दबाब दिन नेविसङ्घले आयोजना गरेको धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।
नेविसङ्घका एकाइ अध्यक्ष साहले शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएको बेला प्रहरीले निहँु खोजेर हटाउन खोजेको र नमान्दा लाठीचार्जसमेत गरेको बताए । नेविसङ्घ पर्साले बिरामीको उपचार गर्नुपर्ने, नारायणीको जनरल सेवा शुरू गर्नुपर्ने र उपचार अभावमा मृत्यु भएको घटनाको छानबीन गरी दोषीलाई कारबाई र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राखेको थियो ।