प्रस, जनकपुरधाम, २६ साउन/
अल्पकालीन निषेधाज्ञा जारी भएका प्रदेश नं. २ का चारवटा जिल्लामा निषेधाज्ञा समय पुनः थप गरेर साउन ३२ गतेसम्म पु-याइएको छ ।
महोत्तरी, धनुषा सदरमुकाम, सर्लाही र रौतहटको चपुरमा स्थानीय प्रशासनले निषेधाज्ञा थप गरेकोे छ । महोत्तरीको जलेश्वर नगरपालिकाका साथै महोत्तरी गाउँपालिकाका ३ र ५ नं वडाका क्षेत्रमा जारी निषेधाज्ञालाई थप गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन् ।
धनुषा सदरमुकाममा पनि स्थानीय प्रशासनले निषेधाज्ञा थप गरेर साउन ३२ गतेसम्म पु-याएको छ । जनकपुरधाम नगरको पूर्वमा कपिलेश्वर बसपार्क, उत्तरमा क्षीरेश्वरनाथ नगरपालिकाको जनकपुर–ढल्केबर सडकखण्डमा पर्ने औरही खोलाको पुल, पश्चिममा कुर्था जाने बाटो र बसबिट्टी जानेबाटोको दूधमती नदीको पुल, दक्षिणमा बनौली मोड, बसहिया सडकको सोनासती मन्दिर, प्रदेशसभा जाने मोडलगायतका क्षेत्रभित्र निषेधाज्ञा थप गरिएको हो ।
सर्लाही जिल्लाको पूरै क्षेत्रमा जारी निषेधाज्ञा पनि बढाएर साउन ३२ गतेसम्म पु-याइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आइतवार बसेको बैठकले सोमवारदेखि साउन ३२ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा थप गर्न निर्णय गरे अनुसार जिल्ला प्रशासन कार्यालयले निषोधाज्ञा जारी गरेको हो । स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक कसैलाई पनि घरबाहिर ननिस्कन र अति आवश्यक काममा निस्कनुपर्दा पनि सामाजिक दूरी कायम गर्ने, सेनिटाइजर र मास्क प्रयोग गर्नेलगायत स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ ।
रौतहतको चन्द्रपुर नगरमा पनि साउन ३२ गतेसम्मलाई निषेधाज्ञा समय लम्ब्याइएको छ । आइतवार नगरपालिकाको कार्यालयले सूचना जारी गर्दै सो कुराको जानकारी गराएको हो । चपुरमा सरकारी तथा गैरसरकारी कार्यालयहरूसमेत बन्द रहने जनाइएको छ ।
धनुषा जिल्ला सुरक्षा समितिले भने यस अवधिभरिमा बैंक तथा वित्तीय संस्थाहरू सावधानी अपनाएर खोल्ने, यात्रु निवासलाई क्वारेन्टाइन बनाउने, आइसोलेशन अझै थप्नेलगायतका निर्णय गरेको छ ।
