सत्तारूढ दलबाटै प्रहरीको विरोधमा प्रदर्शन

124

प्रस, सिम्रौनगढ, २७ साउन/
सत्तारूढ नेकपाका नेता, कार्यकर्ताहरूले मङ्गलवार सिम्रौनगढमा निषेधाज्ञाको अवज्ञा गर्दै प्रहरीविरुद्ध प्रदर्शन गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय बाराले साउन २४ देखि ३२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । यो अवधिमा सबैखाले प्रदर्शन निषेध छ । तर इलाका प्रहरी कार्यालय सिम्रौनगढको विरोधमा नेकपा सिम्रौनगढ नगरकमिटीले जुलुस प्रदर्शन गरेको हो । सयौंको सङ्ख्यामा नेकपाका कार्यकर्ताहरू कङ्कालीमाई मन्दिरमा जम्मा भएर प्रहरीविरुद्ध प्रदर्शनमा सहभागी भएका थिए ।
सहभागीहरूले प्रहरी निरीक्षक सुरेन्द्र तामाङविरुद्ध चर्काे नाराबाजी गरे । प्रहरी निरीक्षक मुर्दाबाद, तस्करी बन्द गर, कृषकमाथिको हस्तक्षेप बन्द गर जस्ता नाराबाजी गरेका थिए । प्रदर्शनको क्रममा इलाका प्रहरी कार्यालय सिम्रौनगढमा आधा घण्टा नाराबाजी गरिएको थियो ।
नेकपा सिम्रौनगढ नगरकमिटीका अध्यक्ष श्यामकिशोर यादवको नेतृत्वमा निकालिएको जुलुसमा केन्द्रीय सदस्य डा गोपाल ठाकुर, इस्लाम अन्सारी, बतहु यादव, गगनदेव कुशवाहा, शेख मुतिम, देवशरण साह, राजेश कुशवाहालगायतको सहभागिता थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्