नायक नहीं खलनायक है तू

0
243

– कुमार रुपाखेती
निर्वाचनका बेला ‘विनबुलाया मेहमान’झैं तपाईं हाम्रो छाप्रो, दैलोमा ङिच्च दाँत देखाउँदै टुप्लुक्क प्रकट हुने नेताहरू अहिले अज्ञातवास र गुप्तवासमा छन्। जनता कोरोनापीडित छन्, नेता अज्ञातवासमा छन्। लुप्तप्रायः जनावरहरू जङ्गलमा फाटफुट देखिएझैं छोटेमोटे नेताहरू यदाकदा मोबाइलमा भेटिन्छन्। अहिले कोरोनाले त्राहिमाम जनताका नेताहरू लुप्तप्रायः छन्। हाम्रो दुःखमा नेताहरूले किन टाउको दुखाउने, किन मगज खियाउने ? नेपालमा त्यसै पनि नेताहरूको टाउको अमूल्य र मूल्यवान् मानिन्छ। एकताका प्रचण्ड–बाबूरामहरूको टाउकोको मूल्य अहिले चर्केको सुनको भाउभन्दा कैयौं गुणा धेरै थियो। यही टाउको संसद्मा गन्ती गराएर सरकारमा उक्लिन पाइन्छ। अनि यस्ता अमूल्य टाउकाहरूले जनताका मूल्यहीन टाउकाका खातिर सिरदर्द किन मोल्थे ? हाम्रा टाउका त निर्वाचनका बखत ५ वर्षमा एकपल्ट मात्र महत्वपूर्ण हुन्छ।
वीरगंजमा निजी अस्पतालहरूको मनोमानीले गर्दा यहाँका जनताले अकालमैं ज्यान गुमाउनुपरेको छ। अस्पतालको ज्यादतीविरुद्ध आवाज उठाउने नेता नै देखिंदैन। स्मरणीय छ, थुप्रै स्थानीय नेताहरूले यहाँ निजी अस्पताल सञ्चालन गर्दै आएकोले आफैं बोक्सी आफैं झाँक्री बन्न बिचराहरूलाई अप्ठेरो परेको छ। नेताको मर्का सबैको मर्का हो भने जनताको मर्का स्वयम् व्यक्तिको हो। यिनलाई निर्वाचनमा जिताउन यिनको अघिपछि हुम्बो हुम्बो गर्ने हामी नै हौं। बर्खाको बेला टर्रट्वाय गर्ने भ्यागुता, हिउँदताका गायब हुन्छन्। हाम्रा भ्यागुते नेताहरू पनि असहज र विषम परिस्थितिमा अदृश्य हुने जनतालाई बाइबाई–टाटा गर्ने र सहज अवस्थामा हाय–हल्लो गर्न लुसुक्क आइहाल्छन् नि। टपरे बाहुन र हाम्रा सांसदहरू उस्तै–उस्तै हुन्। भनिन्छ, कतिपय नकच्चरा नेताहरू जनताबाट टाढिन नक्कली कोरोनापीडित बनेका छन्। नमरी बाँचे कालले साँचे, यिनीहरूसँग भेट होला नै। कोरोनापीडित नेताको ढोका ढकढक्याउन जानुभन्दा दूरी बनाउनु बुद्धिमानी मानिन्छ। कोरोनाबाट समेत फाइदा लिन सक्ने पर्सेली नेताहरू देखेर जनता अक्क न बक्क छन्। निर्वाचनमा मर्न मार्न उतारु हुनेहरूलाई कोरोनाले मार्ला भन्ने कत्रो डर ?
नेतालाई सजिलो र जनतालाई असजिलो पारेर कोरोनाले समेत पक्षपात गरेकै छ। थुप्रै नेता भनाउँदाहरू कोरोनाले नभई जनताको डरले अज्ञातवासमा छन् रे। सत्ययुगमा अज्ञातवासमा तपस्यारत विश्वामित्र ऋषिको तपस्या देवकन्या मेनकाले छमछमी नाचेर भङ्ग गरिदिइन् तर यो कलियुगमा जनताले जतिसुकै छमछमी र फनफनी गरे पनि नेताहरू आफ्नो एकान्तवासबाट निस्किनेवाला छैनन् कि त रेखा थापाले प्रचण्डलाई छमछमी नचाएझैं कम्मर मर्काउन सक्नुप–यो। पर्साका नेताहरूको नौटङ्की पनि बेमिसाल छ। प्रारम्भमा जनताको हितैषी बन्दै मास्क वितरण, सेनिटाइजर वितरण गर्ने, कोरोना जाँच गर्ने मेशिनको डुङडुङी पिट्ने, अति बुद्धि दिने अनि ऐन मौकामा मझदारमा छोडी बेपत्ता हुने। वाह रे नेतागिरी ? वीरगंजमा अस्पतालहरूको हदै तल्लो दर्जाको नीच व्यवहार देखाउँदै सद्दे बिरामी मार्दासमेत खोइ यी भ्यागुतारूपी नाटककारहरू कता कानमा तेल हालेर लुकेका छन् ?
विषम परिस्थितिमा जो डट्छ, त्यो पो नेता हो। जो भाग्छ, त्यो त भगौडा हो। यस्ता भगौडाहरूलाई त सेना, प्रहरीका भगौडाझैं खोजी–खोजी कारबाई गर्नुपर्छ। नेताको पगरी गुथेपछि कुम्भकर्णझैं सुतेर बस्न पाइन्छ र ? रावण राज्य होइन नि यो।
अस्ति पर्सा जिल्लाको एउटा गाउँमा एउटा अनुभवी वृद्धले ‘आगलागी में कुत्ता जरी ?’ भनी खै के भने मैले बुझिनँ। पछि अर्का बुजुर्गले मलाई नेपालीमा सम्झाए– घरमा आगो लाग्दा सबैभन्दा पहिले कुकुर भाग्छ रे। मैले ‘ए त्यसो हो बुझें–बुझें’ भनें। नेतागिरी नेपालमा सबैभन्दा सजिलो गैरजिम्मेवार पेशा हो। पर्साका चारै क्षेत्र कोरोनाले त्राहिमाम छ, तर यहाँका केही सांसद काठमाडौंमा सुरक्ष्Fित बसेर डिङ हाँकिरहेको फेसबूकमा देखिन्छ। फेसबूकमा त कमाल नै गर्छन्, यिनले। संसद् चल्दा जिल्लामा र जिल्लामा समस्या पर्दा राजधानीमा। वाह रे नेतागिरी। कस्तो सजिलो पेशा। ‘आप भला तो जग भला’ भन्ने उखान अचेल मलाई वाहियात लाग्न थालेको छ। किनभने जगको भला सोच्ने जनताको दुर्दशा र आफ्नो मात्र भला सोच्ने नेताहरूको जगजगीले यो उखानको खिल्ली उडाइरहेको देखिन्छ। ‘हिङ लगे न फिटकिरी माल चोखा’ भनेको नेतागिरी नै रहेछ। पर्सा अहिले नेताविहीन लावारिस बेवारिसे जिल्ला बनेको छ। नेता हराएको सूचना टाँस गर्नुपर्ने अवस्था छ। लडाइँमा कमान्डरले मैदान छाडेर भाग्दा सेना हतोत्साहित मनस्थितिमा पुगेझैं, कोरोनासँग लड्न सहायक भूमिका खेल्ने सांसद र नेताहरू स्यालको सिङझैं गायब हुनाले जनता कोरोनासँग झनै त्रस्त बनेका छन्। अब नेताजीहरू नै कोरोनासँग डराउन, लुक्न थालेकाले झन् सन्त्रास बढेको हो। राजनीतिक फाइदा लुट्न कुर्सीका लागि ह्वीप जारी गर्ने दलहरूले ‘जिल्लामा जाऊ जनताको मनोबल बढाऊ’ भन्ने ह्वीप जारी गर्नसमेत असमर्थ देखिएका छन्। ‘पहिले आफू अनि च्यापु’ भनेको यही हो अनि यस्ताले निर्वाचनमा जनतालाई मालिक भनेको सुन्दा होच्याएझैं लाग्छ। जसलाई हामी नायक भन्थ्यौं, ऐन मौकामा यिनीहरू ‘नायक नहीं खलनायक है तू’ साबित गरिदिएका छन्। तसर्थ नेतृत्व नै भगौडा साबित भएपछि हामी जनता आफैंले सुझबुझ र होशियारीले यो महामारीसँग लड्ने बेला आएको छ। नेताहरूको मुख ताकिरहने हो भने हामी झन्झन् जोखिम र सङ्कटमा पर्ने निश्चित छ। भगौडाहरूले कोरोना समस्या समाधान गर्नुको सट्टा झन्झन् विकराल बनाइदिने देखिन्छ। कोरोना महामारीका बखत जिल्ला र जनताबाट भाग्ने, लुक्नेहरूलाई आगामी दिनमा तिनका कसूर अनुसारको दण्ड सजाय दिन सक्यौं भने पनि कोरोनामाथि विजय हासिल गरेको साबित हुनेछ।
प्रतीकको ३४ वर्ष प्रवेश
नेपालको लोकतन्त्रभन्दा दुई वर्ष जेठो प्रतीक ३४ वर्षको लक्का जवान भएकोमा औधी खुशी लागेको छ। प्रतीकको यो वार्षिक अवसरमा उपस्थित हुन नसकेकोमा औधी खल्लो पनि लागेको छ। प्रतीकसँग मेरो साइनो कहिलेदेखि गाँसियो मलाई नै थाहा छैन। मोफसलको सर्वाधिक लोकप्रिय यो दैनिकले थुप्रै बाधा अवरोधलाई छिचोल्दै यहाँसम्मको यात्रा सफलतापूर्वक र सङ्घर्षपूर्ण छ। सङ्क्षेपमा भन्ने हो भने प्रदेश नं. २ को मुखपत्र हो प्रतीक दैनिक। नियमित एकाबिहानै तराईका थुप्रै जिल्लाका पाठकहरूको हातहातमा पुग्ने प्रतीकको व्यवस्थापकीय सफलता काबिले तारिफ छ। कोरोना कहरमा प्रतीकको प्रयास स्मरणयोग्य रहनेछ। पत्रकारितालगायत विभिन्न सामाजिक क्षेत्रमा सक्रिय सेतै कपाल दा–ही पाकेका जगदीशदाइको सक्रियता काबिले तारिफ छ। प्रतीकको ३४औं वार्षिक अवसरमा सम्मानित हुने मेरा मनपसन्द लेखक विनोद गुप्ता दाइ र मलाई प्रतीकमा लेख्न घचघचाइरहने प्रेरणा दिने भाइ शत्रुघ्न नेपाललाई हार्दिक बधाई। फेरि–फेरि यस्तै शुभ समाचार सुन्न पाइयोस्। विकाश भाइ र प्रताप भाइ पनि धन्यवादका पात्र हुन्। धन्यवाद !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here