प्रस, वीरगंज, २५ साउन/
कोरोना महामारी समुदायस्तरमा फैलिरहेको अवस्थामा वीरगंजका एमबिबिएस डाक्टर अर्थात् मेडिकल अधिकृतहरूले विभिन्न सेवासुविधा अस्पतालले उपलब्ध गराउनुपर्ने माग गरेका छन्।
नारायणी रङ्गशालामा शनिवार भएको मेडिकल अधिकृतको भेलाले मेडिकल अफिसर एशोसिएशन वीरगंज गठन गरी विभिन्न ६ बुँदे माग अगाडि सारेका छन्। वीरगंजका विभिन्न अस्पतालमा करीब डेढ सय मेडिकल अधिकृत कार्यरत रहेका डा तेजनाथ तिवारीले जानकारी गराए।
मेडिकल अधिकृतहरूको भेलाले अस्पतालले मासिक तलब ६५ हजार रुपैयाँ दिनुपर्ने, दैनिक ज्यालादारीमा दिनमा ड्युटी गर्ने चिकित्सकलाई २ हजार ५ सय र राति ड्युटी गर्नेलाई ३ हजार रुपैयाँ दैनिक भत्ता दिनुपर्ने उनीहरूको माग छ। त्यसैगरी, निजी अस्पतालहरूले चिकित्सकको स्वास्थ्य बीमा गर्नुपर्ने, सङ्क्रमित भई आइसोलेशनमा बसेको अवधिको र बिदाको रकम नकाट्न आग्रह गरेका छन्।
भेलाले डा सरोज साहको अध्यक्षतामा मेडिकल अधिकृत सङ्घ पर्सा वीरगंज तदर्थ समिति गठन गरेको छ। जसमा उपाध्यक्ष डा मधुरञ्जन सिंह, महासचिव डा रामएकबाल साह, सचिव डा सन्तोष यादव, कोषाध्यक्ष डा उमेश सर्राफ र सहकोषाध्यक्षमा डा अरुण चौरसियालगायत रहेका छन्। उनीहरूले योग्यता पुगेका एमबिबिएस चिकित्सकहरूलाई कुनै अस्पतालले श्रम शोषण गरे आन्दोलन गरेर विरोध जनाउने र मेडिकल अधिकृतको हकहितको लागि अग्रसर रहिरहने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here