धान बालीमा गान्ही कीरा र ब्लास्ट रोगको प्रकोप

प्रस, सेढवा, २५ साउन/
    पर्सा जिल्लामा रोपिएको भदैया धानमा अमेरिकी फौजी (गान्ही) कीराको प्रकोप देखिएको छ।
    ११० दिनमा तयार हुने सोना सारो र भदैया मन्सुली धानमा बाला निस्किने बेलामा गFन्ही कीरा लागेर बालालाई क्षति पु–याएको किसानहरूले बताएका छन्। धानको गाभा सुक्ने रोगले अहिले थरुहट क्षेत्रका किसानहरू समस्याग्रस्त भएका छन्।
    गान्ही कीराले बाला लाग्ने बेलामा धानको दाना लाग्ने दूध खाने हुनाले बाला लाग्न नसकेको किसानहरूले बताएका छन्। उनीहरूले गान्ही कीराको कारण उत्पादनमा कमी आउने चिन्ता जाहेर गरे।  जीराभवानी गापा–२ सेढवाका अजयदत्त चौधरीले गान्ही कीराले धानको दाना लाग्ने दूध खाने गरेकोले धानको गाभा सुक्न लागेको बताए। उनले कीरा मार्न दुईपटक औषधि छरेको भएपनि नियन्त्रण नभएको बताए। गान्ही कीराले ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनीलगायतका क्षेत्रमा दुःख दिएको छ।
    भदैया धानसँगै अगहनी धानको बालीमा भने सरलहवा (ब्लास्ट) रोगले दुःख दिएको छ। ब्लास्ट रोगले धानको जरालाई खाने र जरा कुहिने गरेको जगरनाथपुर गापाका संयोजक शत्रुघ्न चौरसियाले बताए। उनले निषेधाज्ञाको कारण कार्यालय बन्द भएपनि फोनबाट किसानहरूलाई प्राविधिक सल्लाह दिइरहेको बताए।
    ठोरी गापाका कृषि संयोजक कृष्ण कार्कीले भदैया धानमा लागेको गान्ही कीरा मार्न साप्ताहिकरूपमा कीटनाशक औषधि छर्नुपर्ने बताए। उनले गाउँपालिकाले किसानलाई सो औषधि उपलब्ध गराउने योजनामा राखे पनि निषेधाज्ञाको कारण वितरण गर्न नसकेको बताए। तत्कालका लागि प्राविधिक सल्लाहमा किसानहरूलाई कीटनाशक औषधि प्रयोग गर्न उनले सुझाए।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्