प्रस, सिरहा, २५ साउन/
सिरहाको लहान नगरपालिकास्थित ग्लोबल आइएमई बैंक शनिवार साँझदेखि सिल भएको छ। बैंकका एकजना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बैंक सिल गरिएको हो।
महोत्तरी घर भई ग्लोबल आइएमई बैंकमा कार्यरत ३४ वर्षीय कर्मचारीमा शनिवार साँझ कोरोना सङ्क्रमण पुष्टि भएपछि सो बैंकलाई सिल गरी त्यहाँ कार्यरत सबै कर्मचारी क्वारेन्टाइनमा राखिएको लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले बताए।
कर्मचारीहरूलाई आइतवार बिहानदेखि होटलको आइसोलेशनमा राखिएको र उनीहरूको पिसिआर परीक्षणको लागि स्वाब नमूना सङ्कलन गर्ने प्रक्रिया अगाडि बढेको बैंकले जनाएको छ।
सङ्क्रमित कर्मचारी केही दिनअघि लहानस्थित आन्तरिक राजस्व कार्यालयको काउन्टरमा बसेका थिए। उनलाई ज्वरो आउने, टाउको दुख्ने समस्या भएपछि स्वाब परीक्षण गराएका थिए। हाल उनलाई जनकपुर प्रादेशिक अस्पतालको आइसोलेशनमा राखेर उपचार भइरहेको छ। ग्लोबल बैंकका कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि आन्तरिक राजस्व कार्यालय लहानले पनि आइतवारदेखि कार्यालय बन्द गरेको छ।
कार्यालयका कर्मचारीहरूको पिसिआर परीक्षण रिपोर्ट नआएसम्म कार्यालयका सबै कामकाज बन्द गरिएको कार्यालय प्रमुख कमलबहादुर राजलवटले बताएका छन्। यस्तै, सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत एक सशस्त्र प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेस क्याम्पमा कार्यरत सशस्त्र प्रनाउसहितका सशस्त्र प्रहरीलाई क्याम्पभित्रै क्वारेन्टाइनमा राखिएको स्वास्थ्य प्रमुख यादवले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here