प्रस, पोखरिया, २४ साउन/
पोखरिया अस्पतालमा २५ शय्याको आइसोलेशन बन्दैछ। प्रदेश सरकारले गत आवमा रु ३७ लाख आइसोलेशन निर्माण र भोजन व्यवस्थापनको लागि पठाएकोमा बल्ल अहिले आइसोलेशन तयारी हुँदैछ।
अस्पतालका मेसु डा अनिल यादवले रु २७ लाख भवन व्यवस्थापनमा र रु १० लाख खाजा र खानामा खर्चको लागि प्रदेश सरकारले बजेट पठाएको र सोही अनुरूपको २५ शय्याको आइसोलेशन तयारी हुन लागेको बताए। उनले सोमवारदेखि नै आइसोलेशन सञ्चालनमा आउन सक्ने बताए। मेसु डा यादवले तयारी हुन लागेको आइसोलेशनमा लक्षण नभएका सङ्क्रमितहरूलाई आइसोलेट गरिने बताए। उनले लक्षण भएका सङ्क्रमितलाई वीरगंज पठाउने जानकारी गराए। २५ शय्याको आइसोलेशन निर्माणपछि ग्रामीण क्षेत्रमा देखिएका सङ्क्रमितहरूको व्यवस्थापन हुने मेसु डा यादवले बताए।
आइसोलेशनको अभावमा ग्रामीण क्षेत्रमा पनि कतिपय सङ्क्रमित अहिले घरमैं बसेका छन्। घरमा आइसोलेट भएका सङ्क्रमितहरूले होम आइसोलेशनको कुनै पनि मापदण्ड पूरा गरेका छैनन्। उनीहरूको अनुगमन पनि भएको छैन।