१५ जना महिलासहित ७५ जना सङ्क्रमित थपिए

142

प्रस, वीरगंज, २५ साउन/
    वीरगंजमा शनिवार राति पुनः १५ जना महिला र ६० जना पुरूष गरी कुल ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जसमध्ये पर्साका ७० जना रहेका छन् भने बाँकी ५ जना बारा, सर्लाही र एकजना भारतीय नागरिक छन्। १२ वर्षका बालकदेखि ६८ वर्षका वृद्धसम्ममा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी कोभिड प्रयोगशालाले जनाएको छ।
    वीरगंजस्थित भारतको महावाणिज्य दूतावासका एकजना ३५ वर्षीय भारतीय नागरिक सङ्क्रमित छन् भने गौर अस्पतालमा स्वाब सङ्कलन गराएका सर्लाहीका ३६ वर्षीय पुरूषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। त्यसैगरी, बाराको कलैया उपमहानगरपालिका वडा नं ६ का ३३ वर्षीय पुरूष, फेटा ६ का २२ वर्षीय पुरूष र परवानीपुर गापा–३ का ३२ वर्षीय पुरूषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
    पर्साका ७० जनामा वीरगंज महानगरका स्वास्थ्य महाशाखाका प्रमुख अरूणकुमार महतोमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ। उनी नगरप्रमुख विजय सरावगीको कन्ट्याक्ट टे«सिङमा परेका थिए। वीरगंज महानगरकै वारूणयन्त्रमा काम गर्ने दुईजनालाई पनि सङ्क्रमण भएको छ।
    यसैगरी, नारायणी अस्पतालका दुर्ईजना स्वास्थ्यकर्मी, बेल्वा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, पकहामैनपुर गापाका एकजना स्वास्थ्यकर्मी गरी करीब आधा दर्जन स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको छ।
    वीरगंज महानगर वडा नं ३, ७, ८, १०, ११, १२, १४, १७, १८, २१, २४ वडाका छपकैया, बिर्ता, आदर्शनगर, श्रीपुर, राधेमाई, रामगढवा, सबैठवा, मिथिलानगर, रेशमकोठी,  गणेशटोललगायतका मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सबैभन्दा बढी गणेशटोलमा ९ जना सङ्क्रमित भएका छन्। उनीहरू सबै कन्ट्याक्ट टे«सिङमा परेका हुन्।
    जिल्ला प्रहरी कार्यालय पर्साका थुनुवा र सुरक्षाकर्मी गरी ९ जनामा कोरोना सङ्क्रमण भएको छ। यसैगरी पर्साको अमरपट्टिका ३, पकहामैनपुर गापाका २, बहुदरमाई नपाका १, पर्सागढी नपाका ३, पटेर्वासुगौली गापाका १, जीराभवानी गापाका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
    यो सँगै पर्सामा १ हजार १५ जनामा  सङ्क्रमित भएका छन्। यो क्रममा २१ जनाको मृत्यु भएको छ। हिजो शनिवार बिहान मृत्यु भएको वीरगंज–२ छपकैया निवासी २० वर्षीया युवतीमा पनि सङ्क्रमण पुष्टि भएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्