निषेधाज्ञाको उल्लङ्घन गर्दै किस्ता र ब्याज उठाउँदै

137

प्रस, पर्सागढी, २५ साउन/
    पर्सागढी नगरपालिकामा लघुवित्त विकास वित्तीय संस्था लि.का कर्मचारीहरूले निषेधाज्ञा उल्लङ्घन गर्दै ऋणीहरूको घरमा पुगी बैठक गरी किस्ता र ब्याज माग गर्दैछन्।
    लकडाउन र निषेधाज्ञाको कारण आर्थिकरूपमा समस्याग्रस्त व्यक्तिहरूको घरमा पुगेर संस्थाले थप तनाव दिइरहेको छ। ऋणको किस्ता र ब्याज मागेर तनाव दिएको स्थानीय ऋणीहरूले गुनासो गरेका छन्। कामकाज नभएको कारण आर्थिक समस्यामा परेको बेलामा सहयोगी भूमिका निर्वाह गर्नुको सट्टा संस्थाले घरघरमा पुगेर ऋणको किस्ता र ब्याज माग गरेकोमा दुःखेसो पोखेका छन्।
    स्थानीय जयकिशोर चौरसियाले छाक टार्न समस्या भइरहेको बेलामा दैनिक ज्यालादारी गर्ने आफूहरूलाई बैंकले किस्ता र ब्याज मागेर थप तनाव दिएको बताए।
    लघुवित्त संस्थाका शाखा प्रबन्धक जयराम कुशवाहासँग बुझ्दा उनले सक्षम ऋणीहरूलाई किस्ता र ब्याज तिर्न आग्रह गरिएको बताए। उनले समस्याग्रस्त सदस्यसँग कुनै पनि प्रकारको जोरजबरजस्ती नगरिएको बताए। नभएकाहरूले नदिंदा हुन्छ, कुशवाहाले भने।
    उनले किस्ता बुझाएका ऋणीहरूलाई लकडाउन, निषेधाज्ञामा आर्थिक समस्या छ भने थप ५ हजार रुपैयाँसम्म ऋण उपलब्ध गराउन सकिने बताए। त्यसैको लागि पनि घरदैंलोमा पुगेर समस्या बुझ्ने काम भएको प्रमुख कुशवाहाले बताए। 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्