प्रस, पथलैया, १२ जेठ/
बाराको महागढीमाई नगरपालिका र कलैया उपमहानगरपालिकामा एकै दिन २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै महागढीमाई नगरपालिकामा २१ र कलैया उपमहानगरपालिकामा ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको हो। योसँगै बारामा सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ।
मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा महागढीमाईका १८ देखि ५० वर्ष उमेरसम्मका २१ जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ।
यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कलैया उपमहानगरपालिका–१ कोतवालीका २५ र ३२ वर्षका पुरुष र जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत दुईजना प्रहरीमा सङ्क्रमण भेटिएको हो ।
महागढीमाई नगरपालिकामा कोरोना पुष्टि भएका सबै पुरुष भारतबाट एक साताअघि मात्रै नेपाल प्रवेश गरेका हुन् । पचरौता नगरपालिकाको बेलदारी नाकाबाट नेपाल प्रवेश गर्नेक्रममा उनीहरूलाई नियन्त्रणमा लिएर महागढीमाई नपाले बगवाइन माविको क्वारेन्टाइनमा राखेको थियो।
क्वारेन्टाइनमा रहेका ४० जनामध्ये ३० जनाको स्वाब नमूना परीक्षण गरिएको र त्यसमध्ये २१ जनामा सङ्क्रमण पुष्टि भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए। सङ्क्रमित २५ जनाको विवरण प्राप्त भएपछि उनीहरूलाई कलैया अस्पतालको आइसोलेशनमा राखिने प्रजिअ पण्डितले बताएका छन्।
महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले भारतबाट नेपाल प्रवेश गरेका उनीहरूको स्वाब नमूना एक साताअघि सङ्कलन गरी परीक्षणका लागि हेटौंडा पठाएको जानकारी दिए। नगरप्रमुख यादवले नेपाल प्रवेश गर्नेक्रममा नाकाबाटै उनीहरूलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएकाले परिवार र समुदायसम्म जोखिम पुग्न नपाएको जानकारी दिए। उनले क्वारेन्टाइनमा रहेका अन्यको पनि तत्कालै परीक्षण गर्नुपर्नेमा जोड दिए।
बगवाइन माविको क्वारेन्टाइनमा अन्य १० जनाको परीक्षण हुन बाँकी छ । उनीहरू सबै भारतबाट आएका हुन् । महागढीमाई नपाले सञ्चालन गरेको तीनवटा क्वारेन्टाइनमा ५२ जनालाई राखिएको थियो। एकै दिन थपिएका २५ सहित बारामा सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ।
यसअघि जिप्रका बारामा कार्यरत प्रहरी ५, सिम्रौनगढ नपामा ७, करैयामाई गापामा २, जीतपुरसिमरा उमनपामा १, विश्रामपुर गापामा १ जनामा कोरोना पुष्टि भएको थियो।
सङ्क्रमितमध्ये जीतपुरसिमराका १ र सिम्रौनगढका १ गरी २ जना उपचारपछि घर फर्किएका छन्।
बारामा कोरोना सङ्क्रमित प्रहरीको सङ्ख्या सात पुग्यो
जिप्रका बारामा कार्यरत ७ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको स्वाब नमूना परीक्षणबाट ७ जना प्रहरीमा कोरोना सङ्क्रमण देखिएको हो।
हिजो थपिएका चार र आज थपिएका दुईजनासहित बारामा सङ्क्रमित हुने प्रहरीको सङ्ख्या अब ७ पुगेको छ। जेठ ७ गते एक प्रहरी जवानमा कोरोना सङ्क्रमण भेटिएको बारामा आइतवार मात्रै चारजना र सोमवार दुईजना प्रहरीमा सङ्क्रमण देखिएको बाराका प्रजिअ पण्डितले बताए।
आइतवार सर्लाही घर भएका ४९ वर्षीय प्रहरी नायब निरीक्षक, पर्सा घर भएका ३४ वर्षीय प्रहरी हवलदार, ३२ वर्षीय प्रहरी जवान र रौतहट घर भएका ३४ वर्षीय प्रहरी जवानमा सङ्क्रमण देखिएको थियो भने सोमवार काठमाडौं घर भएका प्रहरी निरीक्षक र पर्सा घर भएका प्रहरी जवानमा सङ्क्रमण देखिएको हो ।
बाराका प्रहरी प्रवक्ता प्रनाउ गौतम मिश्रले ६ जना सङ्क्रमित प्रहरीलाई कलैया अस्पतालको आइसोलेशनमा राखिएको बताएका छन्। यसअघि जेठ ७ गते रौतहट घर भई जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी जवानमा कोरोना सङ्क्रमण देखिएको थियो। त्यसपछि कार्यालयमा कार्यरत २५ प्रहरीसहित ४९ जनाको स्वाब नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएकोमा ६ जना प्रहरीमा कोरोना पुष्टि भएको हो।