अतिक्रमित जग्गामा बाली मासेर वृक्षरोपण गर्ने वनको तयारी

181

ओमप्रकाश चोधरी, सेढवा, १२ जेठ/
अतिक्रमणमा परेका राष्ट्रिय वनको जग्गा नियन्त्रणमा लिएर वृक्षरोपण गर्ने तैयारी भइरहेको डिभिजन वन कार्यालय पर्साले जनाएको छ।
चालू आव २०७६/७७ मा १५५ हेक्टर अतिक्रमित जग्गालाई काँडे तारबार लगाइ वृक्षरोपण गर्ने डिभिजन वन कार्यालय पर्साका प्रमुख राजेश्वरमान श्रेष्ठले बताए। यसका लागि वसन्तपुर र बढनियार सबडिभिजन वन कार्यालयमा विभिन्न प्रजातिका बिरुवा उत्पादन गर्ने कार्य भइरहेको अधिकृत श्रेष्ठले बताए। वन अतिक्रमण गरी भोगचलन गरिरहेका किसानहरूलाई पटकपटक खनजोत तथा भोगचलन छोड्न आग्रह गरे पनि नमानेपछि लगाइएका बालीलाई नष्ट गरेर भएपनि काँडे तारबार लगाइ वृक्षरोपण गर्ने अधिकृत श्रेष्ठले जानकारी गराएका छन्।
जिल्लाको पश्चिमी–उत्तरी क्षेत्रमा वनको जग्गा बढी अतिक्रमणमा परेको पाइएकाले यस वर्ष सो क्षेत्रमा वृक्षरोपण गर्ने कार्ययोजना छ। जीराभवानी गाउँपालिकाको काठमाडौं टोल, हरैया र सखुवनिया क्षेत्रमा सयौं बिघा अतिक्रमित जग्गामध्ये यही आर्थिक वर्षको भदौमा २० हेक्टर जमीनमा वृक्षरोपण भइसकेको छ।
त्यस्तै, पटेर्वासुगौली गाउँपालिका अन्तर्गत भथौडा, सोनवर्षा, गदियानी, चाफीलगायतका क्षेत्रमा वनको जग्गामा अहिले पनि वर्षे बाली धान लगाउन खनजोत गरिएको पाइएको छ। जिल्लाको कुल वनमध्ये ११ हजार ५ सय ८५ हेक्टर जङ्गल राष्ट्रिय वनमा रहेकोमा सोमध्ये ३८१ हेक्टर वनको जग्गा अतिक्रमणको चपेटामा परेको डिभिजन वन कार्यालय पर्साको तथ्याङ्कमा उल्लेख छ। अतिक्रमितमध्ये गत आर्थिक वर्षमा १२० हेक्टर जमीनमा वृक्षरोपण भइसकेको छ।
यस वर्ष वसन्तपुरमा थप २५ हेक्टर, मनवा क्षेत्रमा २१ हेक्टर, सबैया क्षेत्रमा २० हेक्टर र छतिवनटाँडी क्षेत्रमा ६ हेक्टरमा वृक्षरोपण गर्ने तयारी भइरहेको डिभिजन वन कार्यालय पर्साले जनाएको छ। वन संरक्षण गर्न तथा जग्गा अतिक्रमण कम गर्ने उद्देश्यले तीनवटा साझेदारी वन समिति गठन गरिएको छ । जसमध्ये सबैया साझेदारी वन समिति मात्र हाल सक्रिय छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्