प्रस, वीरगंज, ११ जेठ/
    नेशनल मेडिकल कलेजमा उपचार गर्दागर्दै मृत्यु भएका एक वृद्धको स्वाब नमूना परीक्षणको प्रारम्भिक रिपोर्ट शङ्कास्पद देखिएपछि यहाँका स्वास्थ्यकर्मी र स्थानीय प्रशासन अन्योलमा परेका छन्।          
    यही जेठ ४ गते नेशनल मेडिकल कलेज वीरगंजमा उपचाररत एक वृद्धको मृत्यु भएकोे थियो। बारा जिल्ला घर भएका ७० वर्षीय वृद्धलाई क्षयरोग र दमसँगै पछिल्लोपटक निमोनियाको सङ्केत पनि देखिएपछि आइसियूमा राखेर उपचार गरिएको थियो। उपचारकै क्रममा उनको स्वाब नमूना परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएकोमा जेठ ६ गते मात्रै स्वाब नमूनाको प्रारम्भिक नतीजा आएको नारायणी कोभिड अस्पताल स्रोतले जनाएको छ।
    नारायणीको पिसिआर मेशिनमा परीक्षण गर्दा मृतकको स्वाब नमूनाको रिपोर्ट शङ्कास्पद आएकोले अन्तिम परीक्षणको लागि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको र हालसम्म सोको रिपोर्ट नआएको नारायणी अस्पतालले जनाएको छ। नारायणीको प्रारम्भिक रिपोर्ट आउन्जेलसम्म मृतकको शव आफन्तजनले अस्पतालबाट लगी अन्तिम संस्कारसमेत गरिसकेका छन्।
    अन्तिम रिपोर्ट पोजेटिभ आएमा  नेशनल मेडिकल कलेज प्रशासन, स्वास्थ्यकर्मी, बारा/पर्साका स्थानीय प्रशासन र सुरक्षा निकायलाई सुरक्षा चुनौती थपिने देखिएको छ।
    जेठ २ गते दिउँसो १ बजे अस्पताल भर्ना भएका वृद्धको जेठ ४ गते राति निधन भएको थियो। नारायणीको प्रारम्भिक रिपोर्ट आएलगत्तै वृद्धको उपचारमा खटेकी महिला चिकित्सक कलेजमैं सेल्फ क्वारेन्टाइनमा बसेकी छन् ।
    बिरामीमा शङ्कास्पद लक्षण देखिएकोले नै स्वाब परीक्षणका लागि नारायणीमा पठाइएको थियो। तर स्वाबको रिपोर्ट आउनुपूर्व नै कलेजले मृतकका आफन्तलाई शव दिंदा समस्या आउन सक्ने जिल्लाका स्वास्थ्य तथा सुरक्षा अधिकारीहरू बताउँछन्। वृद्धको स्वाब रिपोर्ट टेकु प्रयोगशालाबाट आइतवार साँझसम्म नआएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए। करीब ५ सयजनाको स्वाब नमूना परीक्षणका लागि काठमाडौं पठाएकोले पनि ढिला भएको हुन सक्ने मेसु डा उपाध्यायले बताए।
    मृतक वृद्धको स्वाबको अन्तिम रिपोर्ट नआइसकेको अवस्थामा के गर्ने भन्नेबारे जिल्ला प्रशासन कार्यालय पर्साका अधिकारीहरू अन्योलमा छन्। नारायणीको परीक्षणको रिपोर्ट थाहा पाएपछि नेशनल मेडिकल कलेज पनि अन्योलमा परेको छ। कलेज प्रशासनले कोरोना सङ्क्रमित हुन सक्ने मृतक वृद्धकै कारणले आइसियू बन्द गरेको स्रोतले जनाएको छ।
    अस्पतालका निर्देशक डा प्रमोदकुमार सर्राफले सूचना जारी गर्दै तीन दिनका लागि आइसियूमा नयाँ बिरामी नलिने जानकारी गराएका छन्। डा सर्राफले प्रत्येक तीन महीनामा फ्युमिगेशन गर्नुपर्ने भएको कारण देखाउँदै बितेको शुक्रवारदेखि तीन दिनसम्म नयाँ बिरामी नलिने जानकारी गराएका हुन्।
    नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्दीन अन्सारीले मृतक वृद्धको स्वाब नमूना परीक्षणको रिपोर्ट हालसम्म प्राप्त नभएको बताए। उनले रिपोर्ट जेजस्तो आएपनि कलेजले अपनाउनुपर्ने सतर्कता अपनाइरहेको जानकारी गराए।
    यस सम्बन्धमा पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले मृतकको प्रारम्भिक रिपोर्ट शङ्कास्पद आएको आफूले जानकारी पाएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here