प्रस, पंचगावाँ, १३ जेठ/
जिल्ला प्रहरी कार्यालय पर्साले जङ्गली हात्तीको आक्रमणबाट एकजना वृद्धको मृत्यु भएको बताएको छ ।
पर्सा जिल्ला पटेर्वासुगौली गापा–१ रामभौरीस्थित शीतलपुर जङ्गलमा हात्तीको आक्रमणबाट ६१ वर्षीय श्यामबहादुर भुलनको मृत्यु भएको पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले बताए ।
उनले मृतक भुलन समकालीन साथीहरू भक्तबहादुर आले र श्रवण भुलनसँग पटेर्वासुगौलीमा कुरिला खन्न गएका र उनीहरूलाई जेठ ९ गते साँझ ७ बजेतिर हात्तीले आक्रमण गरेकामा भक्त र श्रवण ज्यान जोगाएर भागेका र श्यामको भने हात्तीको आक्रमणबाट मृत्यु भएको बताए ।
प्रवक्ता लम्सालले घटनाबारेमा हिजो थाहा भएको र सो स्थलमा इप्रका, पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको टोली पठाएर श्यामबहादुर भुलनको शव उठाएर शल्यपरीक्षणका लागि नारायणी अस्पताल पठाएको बताए ।
तर स्थानीयहरूका अनुसार भुलनसहितको टोली जङ्गल बाटोबाट गाँजाको ढुवानी गर्दै थिए । यो बाटो गाँजा ढुवानी हुने गरेको छ । प्रहरीले गाँजा ढुवानीकर्तालाई किन कुरिलो खन्न आएको बुझ्न नसकिएको उनीहरूको भनाइ छ । घटनाको तीन दिनपछि
खबर हुनु र गाँजा ढुवानीकर्तालाई कुरिलो खन्न आएको प्रमाणित गर्नु प्रहरी नियतमा शङ्का गर्नुपर्ने स्थानीयहरूको ठहर छ ।
