वीरगंज महानगरपालिकाले वीरगंज शहरलाई हरियालीयुक्त बनाउने अभियान सञ्चालन गरेको जनाएको छ । यस क्रममा महानगरपालिकाले फोहरको केन्द्रको रूपमा रहेको मितेरी पुल क्षेत्रको सरसफाइ गरेर यहाँको स्थायी सौन्दर्यीकरणका लागि त्यहाँ पार्क निर्माण गर्ने सोच बनाएको छ । यस कार्यमा महानगरलाई सशस्त्र प्रहरी बल, ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले हातेमालो गरिरहेको जनाइएको छ ।
निश्चय नै वीरगंज, जुन लामो समयसम्म नेपालको प्रवेशद्वारको नामले परिचित थियो, जसको निरन्तर विस्तार हुँदै आज महानगरमा परिणत भएको छ, त्यो देख्नका लागि मात्र होइन, अनुभव गर्नका लागि पनि राम्रो हुनुपर्छ । राम्रोको अर्थ राम्रा भवन, चिल्ला सडक, रङ्गीचङ्गी बिजुलीबत्तीहरूको सजावट मात्र होइन, जनजीवनलाई स्वस्थ र स्पूर्तिदायक राख्ने वातावरण पनि हो । जुन नगरको समग्र हरियालीमा मात्र सम्भव छ । दुर्भाग्य वीरगंज नगर बसेदेखि यहाँ खुला चौर, पार्क, फराकिला सडक–चोक तथा मनोरञ्जनका विविध साधनहरूको व्यवस्था गर्न सबै उदासीन रहे ।
वीरगंजको आकर्षण भनेको सभाभवन (टाउन हल), घडिअर्वा पोखरी, स्वीमिङपुलहरू हुन् । घडिअर्वा पोखरीको आप्mनो सीमा छ, त्यहाँ थप विस्तारका काम हुन गाह्रो छ । नयाँ सिकाइको लोभमा महानगरले टाउनहल र स्वीमिङपुल गुमाइसकेको छ । अब कि कुनै नयाँ ठाउँ खोज्नुपर्ने अथवा शहरभित्र विकास गर्ने लोभ त्यागेर नगरको ग्रामीण क्षेत्रहरूतिर पनि गएर विकासका नयाँ–नयाँ आयामहरू खोज्नुपर्ने देखिन्छ । तर शहरको घना बस्तीहरू, जो आज कन्क्रिटको थुप्रोमा परिणत भएका छन्, तिनलाई हरियाली दिन छेउछाउका उपेक्षित ठाउँहरूको हरियालीमा ध्यान दिन आवश्यक छ । किनकि एउटा हरियालीले भरिएको पार्कले पाँच सय मिटर पर बस्ने मानिसको स्वास्थ्यमा पनि सकारात्मक ऊर्जा भर्न सक्ने कुरा वैज्ञानिक अध्ययनबाट प्रमाणित भएको छ । आज त चिकित्सा विज्ञानले पनि चिकित्सासँगसँगै नागरिकलाई हरियाली बगैंचामा घुम्न दिने वातावरण बनाइदिने हो भने अधिकांश रोगहरू मुक्ति पाउन सकिने कुरा सिद्ध गरिसकेको छ ।
यसै क्रममा महानगरपालिकाले वडा नं १५ लक्ष्मणवा मा उपेक्षित र अव्यवस्थित पार्कलाई ज्येष्ठ नागरिक सङ्घ, पर्साको संरक्षकत्वमा दिएको छ । यो अहिलेसम्म नगरमा रहेको पहिलो हरियालीयुक्त पार्क हो । यद्यपि लामो समयसम्म उपेक्षित अवस्थामा रहेको र अन्यान्य कारणले यहाँ बिरुवाहरू हुर्काउन, रेखदेख गर्न गाह्रो बनिरहे तापनि महानगरको सहयोगमा आज घुम्नलायक ठाउँ बन्न सफल भएको छ । निश्चय नै ज्येष्ठ नागरिक सङ्घले गरेको उपलब्धिमा महानगर, स्थानीय वासिन्दा तथा केही मनकारी हातहरूको ठूलो योगदान छ । अन्यथा विगतमा ज्येष्ठ नागरिक पार्कको संज्ञा पाएर र त्यहाँ जङ्गली घाँस र पहिले रोपिएका बोट–बिरुवाबाहेक केही हुने थिएन । आज पनि पार्कको दुईतिहाई भागमा ठेकेदारले थुपारेको पीचको कचरा र ढुङ्गा–गिट्टी उक्त स्थानलाई उर्वर बन्न अवरोध बनिरहेको छ ।
वीरगंजका आवश्यकताका सबै सामल एकैपटक जुटाउन सकिंदैन, त्यस्तो अपेक्षा राख्नु पनि हुँदैन, तर जनप्रतिनिधिहरूको प्रत्येक कार्यकालमा एउटा अभीष्ट राखेर एउटा अभियान लिएर हिंड्यो भने वीरगंज एक दिन अवश्यमेव नामको मात्र होइन, समग्रमा महानगर बन्नेछ । आवश्यकता छ भने केवल दृढ अठोट र विवेकपूर्ण निर्णयको ।

