प्रस, वीरगंज, १३ जेठ/
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल, काठमाडौंको टोलीले मधेस प्रदेश अन्तर्गत महोत्तरीबाट निर्वाचित प्रदेशसभा सदस्य सरोजकुमार सिंहका स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल, काठमाडौंका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले महोत्तरी जिल्ला जलेश्वर नपा–१० घर भएर हाल जनकपुर उपमहानगर–९ सरस्वतीटोल बस्ने ६५ वर्षीय कायस्थलाई हिजो दिउँसो जनकपुर उपमहानगरबाट पक्राउ गरिएको बताएका छन् । उनीमाथि उपभोक्ता समितिको नाममा सरकारी रकम दुरुपयोगको आरोप लागेको छ । अख्तियारका सहायक प्रवक्ता थपलियाले प्रदेशसभा सदस्य सरोजकुमार सिंहसमेतले विभिन्न उपभोक्ता समितिहरू गठन गरेको देखाइ उक्त उपभोक्ता समितिका खातामा दाखिला भएको रकम निजी सचिव कायस्थमार्फत झिकी/झिक्न लगाइ उक्त रकम आफ्नी पत्नीको खातामा बैंक दाखिला गरी/गर्न लगाइ साथै निजको निजी सचिव कायस्थसमेतको खातामा रकम जम्मा गरी सरकारी रकम दुरुपयोग गरी/गराइ भ्रष्टाचारजन्य कार्य गरेको उजूरीको आधारमा कायस्थलाई हिजो पक्राउ गरी थप अनुसन्धान भइरहेको बताए । उनले मधेस प्रदेशसभा सदस्य सिंहको साथमा हुँदा प्रयोग गरी आएका विद्युतीय उपकरणसमेत कब्जामा लिएको र घटनाबारे आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी गराएका छन् ।

