स्पा र वेलनेशको अवधारणा मानव सभ्यताको प्रारम्भदेखि नै विद्यमान रहेको पाइन्छ । प्राचीन समयदेखि नै मानिसहरू प्राकृतिक स्रोतहरू जस्तै तातोपानी, जडीबुटी, ध्यान, योग र जल चिकित्साको माध्यमबाट आफ्नो शारीरिक, मानसिक र आत्मिक स्वास्थ्य सन्तुलनमा ध्यान दिने गर्थे । आजको युगमा मानिसहरूको जीवन अन्त्यन्तै व्यस्त र तनावपूर्ण हुने गरेको छ । कामको तनाव, अनियमित खानपान र अपर्याप्त आरामले गर्दा मानिस विभिन्न शारीरिक र मानसिक स्वास्थ्य समस्याबाट पीडित छन् । यसको समाधानको उपायको रूपमा विश्वभर स्पा र वेलनेशलाई लिन थालिएको छ ।
मेसोपोटामिया, मिश्र र भारतमा परम्परागत चिकित्सा पद्धति र प्राकृतिक उपचारको अभ्यास प्राचीनकालदेखि चलिआएको छ । प्राचीन भारतमा आयुर्वेद र योगलाई शरीर, मन र आत्माको सन्तुलनका लागि उपयोग गरिन्थ्यो । ग्रीस र रोमन साम्राज्यमा तातोपानी स्नान अत्यन्त लोकप्रिय थियो । त्यहाँ स्नान, विश्राम र सामाजिक जमघट सँगसँगै स्वास्थ्य सन्तुलनमा जोड दिइन्थ्यो । चीन र जापानमा तातोपानी, अकुपञ्चर/अकुप्रेशरजस्ता प्राकृतिक उपचार पद्धति स्वास्थ्य सन्तुलनको लागि प्राचीनकालदेखि चलिआएका छन् ।
आजको २१औं शताब्दीमा स्पा र वेलनेश केवल स्वास्थ्य सेवाको रूपमा मात्र नभई खर्बौं डलरको विश्वव्यापी उद्योग बनेको छ । वेलनेश भन्नाले केवल रोगको अभाव मात्र होइन, यो जीवनशैलीको एक सक्रिय प्रक्रिया हो, जसले व्यक्तिलाई आफ्नै शरीर, मन र आत्मासँग जोड्न मदत गर्छ । डिजिटल जीवनशैली र मानसिक समस्याको वृद्धि, दीर्घकालीन रोगको जोखिम र मानिसको स्वास्थ्यप्रतिको सचेतनाले वेलनेश र स्पा सेवाको माग विश्वव्यापीरूपमा बढेको पाइन्छ । दिगो वेलनेश पर्यटन, पर्यावरणमैत्री स्पा, चिकित्सकीय वेलनेश, स्वास्थ्य केन्द्रित चिकित्सा सेवा, परम्परागत र आधुनिक चिकित्सा संयोजन जस्ता नयाँ विधा विकसित भएका छन् । कोभिड–१९ महामारीपछि मानसिक स्वास्थ्य, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि/समष्टिगत तन्दुरुस्तताप्रति विश्वभर नयाँ चासो देखिएको छ । त्यसैले मानिसहरू शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक सन्तुलनको खोजीमा छन् ।
नेपालमा स्पा र वेलनेश
नेपाली सन्दर्भमा वेलनेश भन्नाले ‘कल्याण’ हो, जसले शारीरिक, मानसिक, भावनात्मक, सामाजिक र आध्यात्मिक पक्षहरूको सन्तुलनलाई जनाउँछ । यो अवधारणा नेपालमा नयाँ होइन, यसको जरा हाम्रो परम्परागत आयुर्वेद, योग, ध्यान, जडीबुटी उपचार र प्राकृतिक जीवनशैलीमा गहिरोरूपमा जोडिएको छ । देशका विभिन्न स्थानमा रहेका तातोपानी कुण्डलाई प्राकृतिक जलचिकित्साको रूपमा लिने गरिन्छ । नब्बेको दशकपछि होटलहरूमा स्पा सेवाको थालनी भएको पाइन्छ । फूलबारी रिसोर्ट एन्ड स्पा नेपालकै पहिलो स्पा रिसोर्ट थियो । विसं २०५० सालतिर काठमाडौं र पोखराका केही होटलमा विदेशी पर्यटकलाई लक्षित गरी स्पा सेवा शुरू भयो । अहिले भने नेपालभर स्पाको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ ।
नेपाली समाजमा शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य र सामाजिक सन्तुलनलाई महत्त्व दिइन्छ । यसले वेलनेशको व्यापक अर्थलाई समेट्छ । आफ्नो प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र परम्परागत उपचार पद्धतिलाई उपभोग गरी वेलनेश गन्तव्यको रूपमा स्थापित गर्न सकिने सम्भावना छ । पछिल्लो १५–२० वर्षमा निजी क्षेत्रको अग्रसरताले यो क्षेत्रलाई व्यावसायिकरूपमा अघि बढाएको छ र वेलनेश पर्यटनलाई नेपालको पर्यटन क्षेत्र विविधीकरण गर्ने अवसरको रूपमा हेरिन थालेको छ । नेपालका अधिकांश लक्जरी होटल तथा रिसोर्टले अहिले स्पा र वेलनेश सेवा दिइरहेका छन् । यसमा अर्बौं रुपैयाँको लगानी र हजारौं व्यक्तिले रोजगार पाएका छन् । हालका स्पा सञ्चालकले आफ्ना वर्षौंको अनुभव पाँचतारे होटलमा काम गर्दै वा विदेशी अन्तर्राष्ट्रिय चेन होटलबाट सिकेर सीप आर्जन गरेका हुन् ।
नेपालको प्राकृतिक सौन्दर्य, हिमालयको शान्त वातावरण र समृद्ध सांस्कृतिक विरासतले यसलाई वेलनेश पर्यटनको लागि एक आदर्श गन्तव्य बनाउँछ । विश्वभर बढ्दो वेलनेश पर्यटनको मागलाई मध्यनजर राख्दै नेपालले आफ्नो प्राकृतिक र सांस्कृतिक सम्पदालाई उपयोग गरी यस क्षेत्रमा आफ्नो पहिचान बनाउन ठूलो सम्भावना राख्छ । अन्तर्राष्ट्रिय पर्यटक नेपालमा योग, आयुर्वेद र प्राकृतिक उपचारको अनुभव लिन आउँछन्, जसले गर्दा नेपालको पर्यटक आगमनमा उल्लेख्य वृद्धि र तिनको बसाइलाई लम्ब्याउन सकिन्छ । सँगसँगै यसले स्थानीय संस्कृति र परम्परालाई संरक्षण गर्छ र नेपाललाई विश्वको नक्शामा एक स्वस्थ र आरामको गन्तव्यको रूपमा स्थापित गर्न मदत पुदछ ।
वेलनेशबाट हुने फाइदा
वेलनेश पर्यटनले नेपाललाई धेरै प्रकारका फाइदा दिन्छ । यसले पर्यटन उद्योगलाई बढावा दिनुको साथै स्थानीय अर्थतन्त्रलाई पनि मजबूत बनाउँछ । स्पा तथा वेलनेशको प्रवद्र्धनबाट व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधारको साथै रोजगार सिर्जना र मुलुकको आर्थिक समृद्धिमा योगदान पुग्छ ।
स्वास्थ्यमा फाइदा : आधुनिक जीवनशैलीले मानिसलाई विभिन्न स्वास्थ्य समस्याबाट जोगिन गाह्रो बनाएको छ । तनाव, अनिद्रा, मांसपेशी दुखाइ र मानसिक अशान्तिजस्ता समस्या बढ्दै गइरहेका छन् । यसले विश्वभर मानिस आफ्नो शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य सुधार गर्न स्पा र वेलनेश सेवाको खोजीमा छन् । वेलनेश सेवाजस्तै मालिस, योग, ध्यान, आयुर्वेदिक उपचार र प्राकृतिक चिकित्साले मानिसलाई तनावमुक्त गर्न, शरीरिलाई आराम दिन र मनलाई शान्त बनाउन मदत गर्छ । यसले समग्ररूपमा समाजको उत्पादकता र जीवनस्तरमा पनि सुधार ल्याउँछ ।
वेलनेश पर्यटनले मानिसहरूको शारीरिक र मानसिक स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । आयुर्वेदिक उपचार, योग, र ध्यानले तनाव, अनिद्रा र मांसपेशी दुखाइजस्ता समस्याको समाधान गर्छ । यसले नयाँ स्वास्थ्य चुनौतीजस्तै नेकटेक (टेक्नोलोजी प्रयोगबाट हुने गर्धन दुखाइ)को समाधानमा पनि मदत गर्छ । स्पाले शारीरिक र मानसिक स्वास्थ्य दुवैका लागि धेरै लाभ प्रदान गर्छ । शारीरिकरूपमा यसले तनाव कम गर्न, रक्तसञ्चार सुधार गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन मदत गर्छ । मानसिकरूपमा स्पाले विश्राम अनुभूति दिलाउने, चिन्ता र डिप्रेशन घटाउने तथा समग्र जीवन सन्तुलन बढाउने काम गर्छ ।
विश्वभर मानसिक स्वास्थ्य समस्याको वृद्धि, बढ्दो प्रतिस्पर्धा र तीव्र गतिमा बदलिंदो जीवनशैलीले वेलनेश पर्यटनप्रतिको माग उल्लेखनीयरूपमा बढाएको छ । पर्यटक यात्रा गर्दासमेत तनाव घटाउने र आफ्नो समग्र स्वास्थ्य सुधार गर्ने उपायको खोजीमा हुन्छन् । यस प्रवृत्तिले स्पा उपचार, योग रिट्रिट र अन्य समग्र अभ्यासलाई झन् लोकप्रिय बनाएको छ । मानिसहरू अब वेलनेशलाई केवल उपचारको रूपमा नभई जीवनशैलीको अङ्ग बनाउँदैछन् । वेलनेशले शरीर र मनप्रतिको सजगता बढाउने, खानेकुरामा रुचि जगाउने, मध्यमस्तरको तनाव र व्यायामको सन्तुलन कायम राख्न मदत गर्ने हुँदा यो हाम्रो जीवनशैलीको नियमित भागको रूपमा रहेको छ ।
शारीरिक तन्दुरुस्ती : मसाज, तातोपानीजस्ता स्पा उपचारले मांसपेशीमा भएको तनाव हटाउन, दीर्घकालीन पीडा कम गर्न र जोर्नीहरूको गतिशीलता सुधार गर्न सहयोग गर्छन् । तातोपानी स्नान, विपरीत तापक्रमको पानी र मसाजले रक्तसञ्चार बढाउन सहयोग पु¥याउँछ । यसबाट शरीरभरी अक्सिजन र पोषक तŒव राम्रोसँग आपूर्ति गर्न मदत पुग्छ । स्पा उपचारले शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्न सहयोग गर्छ, समग्र स्वास्थ्य सुदृढ गर्छ र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन सहयोगी हुन्छ । विशेषगरी मसाजजस्ता स्पा उपचारले मानसिक तनाव घटाएर विश्राम अनुभूति दिलाउँछ । निद्राको गुणस्तर र बानीमा सुधार पनि ल्याउँछ । स्पा उपचारले छालाको स्वास्थ्य सुधार गर्न सहयोग गर्छ, जसले छालालाई उज्यालो, मृदु र आकर्षक बनाउँछ ।
मानसिक स्वस्थताः मसाज, अरोमाथेरापीजस्ता स्पा उपचारले तनाव हर्मोनको मात्रा घटाउँछ र मानसिक शान्ति अनुभूति गराउँछन् । स्पाको शान्त वातावरण र उपचारले मानसिक सन्तुलन कायम राख्न, चिन्ता र डिप्रेशनका लक्षण कम गर्न तथा खुशीको अनुभूति बढाउन सहयोग गर्छ । रक्तसञ्चार सुधार हुने भएकाले स्पा उपचारले मानसिक स्पष्टता, एकाग्रता र सोच्ने क्षमतालाई बढावा दिन्छ । स्पा उपचारले शरीरमा इन्डोरफिन्स,डोपामाइन/सेरोटोनिनजस्ता सुखद हर्मोनको उत्पादन बढाउँछ, जसले ऊर्जास्तर र मूड सुधार गर्न मदत गर्छ । स्पामा समय बिताउँदा आत्म–हेरचाहको अनुभूति हुन्छ । यसबाट व्यक्तिको आत्मसम्मान र आत्मविश्वास बढ्छ र सकारात्मक आत्म–छविमा सुधार आएको अनुभूति गर्छ ।
रोजगार सिर्जनाः विश्वका धेरैजसो मुलुकमा वेलनेश पर्यटनको माध्यमबाट राज्यले राम्रो आम्दानी गर्नुका साथै स्थानीय रोजगार सिर्जना भएको छ । नेपाल भ्रमणमा आउने पर्यटकलाई मात्रै लक्षित गरेको अवस्थामा पनि पर्यटकको बसाइ लम्ब्याउनुका साथै उनीहरूले खर्च गर्ने ठाउँ बन्न सक्छ ।
चुनौतीहरू र समाधान
नेपालमा वेलनेश पर्यटनको विकासमा धेरै चुनौती छन् । यसको लागि सरकार, निजी क्षेत्र र स्थानीय समुदायको सहयोग आवश्यक छ । पर्यटन मन्त्रालयले होमस्टे, होटल र रिसोर्टका लागि मापदण्ड तयार गरेको भएपनि अहिलेसम्म स्पा र वेलनेश क्षेत्रका लागि मापदण्ड बनाएको छैन । विश्वभर लक्जरी स्पा र होटलमा अत्यधिक माग भएपनि धेरै नेपाली युवालाई यो उद्योगबारे अझै पर्याप्त जानकारी छैन ।
नेपालमा स्पा र वेलनेश सेवाका लागि स्पष्ट मापदण्ड नहुँदा केही विकृति विसङ्गति देखिएका छन् । यसले गर्दा सेवाको गुणस्तरमा असर पर्छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले मसाज थेरापी, योग र सौन्दर्य चिकित्साको प्रशिक्षण दिन सकेको छ । सिटिइभिटीले वेलनेशसम्बन्धी पाठ्यक्रम तयार गरी त्यस अनुसार जनशक्ति तयार गर्न सकेमा रोजगारको अवसर विस्तार हुनेछ ।
निष्कर्ष
नेपालले वेलनेश पर्यटनमा सफल हुन धेरै कदम चाल्न आवश्यक छ । नेपाल र विश्व बजारमा स्पा तथा वेलनेश क्षेत्रमा रोजगारका अवसर निकै आकर्षक बन्दै गएका छन् । यो क्षेत्रमा दक्ष जनशक्तिको माग उच्च छ र तलब पनि प्रतिस्पर्धात्मक छ । नेपालका अधिकांश स्पा व्यवसायी पनि कहिल्यै न कहिल्यै स्पा व्यावसायिक भएरै आफ्नो ‘करिअर’ शुरू गरेका थिए । यो क्षेत्रमा व्यवसायी बन्ने अवसर पनि सजिलो छ । किनभने सीप, अनुभव र लगनशीलताबाट नै यो उद्योगमा सफल हुन सकिन्छ । युवाले स्पा तथा वेलनेशलाई गम्भीररूपमा लिएर आफ्नो भविष्यको करिअरको रूपमा हेर्नु आवश्यक छ, किनभने यो क्षेत्रले देशभित्र र विदेशमा उत्कृष्ट रोजगार र व्यावसायिक सम्भावना प्रदान गर्छ ।
नेपालमा वेलनेस पर्यटनको भविष्य उज्ज्वल छ । यसले न केवल स्वास्थ्य र आराम प्रदान गर्छ, तर यसले नेपालको अर्थतन्त्र र पर्यटन उद्योगलाई पनि बढावा दिन्छ । नेपाललाई वेलनेश पर्यटनको गन्तव्यको रूपमा विकास गर्न सकिन्छ । यसका लागि सरकार, निजी क्षेत्र र स्थानीय समुदायको सहयोग आवश्यक छ । यसलाई व्यवस्थित, गुणस्तरीय र दिगो बनाउन स्पष्ट नीति, मापदण्ड, तालीम र अनुगमनका लागि यो निर्देशिका अत्यन्त आवश्यक छ । नेपाल सरकारले अन्य पर्यटन क्षेत्रझैं वेलनेश पर्यटनका लागि छुट्टै निर्देशिका तत्काल लागू गर्नुपर्ने आवश्यकता छ । (लेखक नेपाल स्पा तथा वेलनेश सङ्घका अध्यक्ष तथा ट्रांक्विलिटी स्पाका कार्यकारी निर्देशक हुन् । रासस)

