संयुक्त राज्य अमेरिका, १७ जेठ/एएफपी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टील र एल्युमिनियमको आयातमा आगामी हप्तादेखि ५० प्रतिशतसम्म कर वृद्धि गर्ने घोषणा गरेका छन् ।
पेन्सिलभेनियास्थित अमेरिकी स्टील प्लान्टका कर्मचारी तथा श्रमिकलाई सम्बोधन गर्दै उनले भने, “हामी यसलाई २५ प्रतिशतबाट ५० प्रतिशत बनाउन गइरहेका छौं ।”
गत वर्षको चुनावमा विजय हासिल गर्न सहयोग पुर्याएको अमेरिकी राज्य पेन्सिलभेनियामा नीलो रड्ढो पहिरनमा भेला भएका कार्यकर्तासामु उनले भने, “कोही पनि यसको वरिपरि पुग्नेवाला छैन ।”
त्यसको केही समयपछि राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोशलको पोस्टमा लेखेका छन्, “बुधवार जून ४ देखि लागू हुने गरी नयाँ करसहित एल्युमिनियममा पनि उच्च दर लागू हुनेछ ।”
गत जनवरीमा राष्ट्रपतिका रूपमा पुनः ह्वाइट हाउसमा फर्केपछि ट्रम्पले विश्व व्यापार व्यवस्थालाई झकझक्याउने र वित्तीय बजारलाई तहसनहस पार्ने गरी आफ्ना सहयोगी र प्रतिद्वन्द्वीमाथि व्यापक कर लगाएका छन् ।
उनले सवारीसाधन (अटोमोबाइल्स) जस्ता वस्तुहरूलाई असर गर्ने क्षेत्र–विशिष्ट करहरू पनि जारी गरेका छन् ।
शुक्रवार उनले आफ्नो व्यापार नीतिको बचाउ गर्दै करवृद्धिले अमेरिकी उद्योगको सुरक्षामा सहयोग गरेको तर्क गरेका थिए ।
उनले भने, “आफ्नो पहिलो प्रशासनको समयमा स्टील र एल्युमिनियमजस्ता धातुहरूको आयातमा पनि कर नलगाएको भए यो क्षेत्र अस्तित्वमा हुने थिएन ।”
शुक्रवार ट्रम्पले अमेरिकी स्टील र जापानको निप्पोन स्टीलबीच योजनाबद्ध साझेदारीको चर्चा गरे पनि यस अघि द्विपक्षीय विरोधको सामना गर्नुपरेको सम्झौताका बारेमा केही नयाँ विवरण प्रस्तुत गरेका थिए ।
उनले अमेरिकी स्टील निर्माता कम्पनी र निप्पोन स्टीलबीच हालै घोषणा गरिएको योजनाबद्ध साझेदारीको बावजूद अमेरिकी स्टीललाई अमेरिकाले नियन्त्रण गर्ने बताए ।
उनले कम्पनीले कुनै पनि कामको लागि बाहिरी जनशक्तिलाई प्रोत्साहन नगर्ने पनि बताए ।
शुक्रवार अबेर वाशिङ्टन फर्केपछि राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै आफूले सम्झौतालाई अनुमोदन गर्न बाँकी रहेको बताएका थिए ।
“मैले निप्पोनसँगको अन्तिम सम्झौतालाई अनुमोदन गर्नुपर्नेछ तर त्यो अन्तिम सम्झौता अहिलेसम्म हात परेको छैन, तर उनीहरूले धेरै ठूलो प्रतिबद्धता जनाएका छन्,” उनले भने ।
गत साता ट्रम्पले अमेरिकी स्टीलको मुख्यालय पिट्सबर्गमा रहने र निप्पोनसँगको सम्झौताले कम्तीमा ७० हजार रोजगार सिर्जना हुने र अमेरिकी अर्थतन्त्रमा १४ अर्ब डलर थपिने बताएका छन् ।
पेन्सिलभेनियामा ट्रम्पले भने, “आफ्नो प्रतिबद्धताको एक भागको रूपमा, निप्पोनले ‘मोन भ्याली वक्र्स–इरविन प्लान्ट’मा इस्पात उत्पादन बढाउन २.२ अर्ब डलर लगानी गर्नेछ । थप सात अर्ब डलर स्टील मिलको आधुनिकीकरण, अयस्क खानी विस्तार र इन्डियाना र मिनेसोटालगायतका स्थानमा निर्माण सुविधाका लागि खर्च हुनेछ ।”
निप्पोन स्टीललाई १४ अर्ब ९० करोड अमेरिकी डलरमा अमेरिकी स्टील बिक्री गर्ने प्रस्तावको यस अघि दुवै पक्षबाट राजनीतिक विरोध भएको थियो । पूर्वराष्ट्रपति जो बाइडेनले पद छाड्नुभन्दा केही समय अघि राष्ट्रिय सुरक्षाको कारण देखाउँदै यो सम्झौता रोकेका थिए । नयाँ साझेदारीलाई लिएर चिन्ता कायमै छ ।
अमेरिकी स्टील कारखानामा कार्यरत हजारौं प्रतिघण्टा कामदारको प्रतिनिधित्व गर्ने युनाइटेड स्टील वक्र्स युनियन (युएसडब्लू)ले ट्रम्पको भाषणपछि निप्पोन स्टील र ट्रम्प प्रशासनसँग सम्बन्धित छलफलमा भाग नलिएको र यस सम्बन्धमा ‘आफूहरूसँग परामर्श नगरिएको’ बताएको छ ।
युएसडब्लूका अन्तर्राष्ट्रिय अध्यक्ष डेभिड म्याकलले भने, “हामी योजनाबद्ध साझेदारीको अर्थबारे अनुमान लगाउन सक्दैनौं ।”
म्याकलले भने, “सम्झौताको संरचना जेसुकै होस्, हाम्रो प्राथमिक चासो युएस स्टीललाई विदेशी प्रतिस्पर्धीमा विलय गर्दा राष्ट्रिय सुरक्षा, हाम्रा सदस्यहरू र हामी बस्ने र काम गर्ने समुदायहरूमा पर्ने प्रभावसँग रहन्छ ।”
निर्वाचन अभियानका क्रममा ट्रम्पले निप्पोन स्टीलको अधिग्रहण योजनाको विरोध गरेका थिए तर राष्ट्रपतिमा फर्किएपछि उनले आफू कुनै न कुनै प्रकारको लगानीका लागि खुला रहने सङ्केत गरेका थिए । रासस
