यही असोज १७ गते रातिदेखि भोलिपल्ट रातिसम्म परेको पानी र बाढीले सिम्रौनगढ क्षेत्रका किसानहरूलाई करोडौंंको क्षति भए पनि अहिलेसम्म किसानहरूले क्षतिपूर्तिका लागि दाबी गरेका छैनन् ।
सिम्रौनगढ इलाकामा गरिएको धान, हरिया तरकारी र फलफूल खेती पानीको कारण नराम्ररी क्षति भएको थियो । सिम्रौनगढ, खजानी, मौवाही, झवानी, सलेमपुर, हरिहरपुर, ठूलो इटबाललगायत १५ टोलाहरूमा क्षति पुगेको थियो ।
किसानहरूले लगाएका काउली, भन्टा, लौका, मेवा लगायत तरकारी फलफूलहरू पानीले प्रभावित पारेको थियो । किसानहरूले लगाएको भदैया धानबाली पनि डुबानमा परेर क्षति पुगेको थियो ।
यसैगरी सिम्रौनगढ क्षेत्रमा रहेका २५० पोखरीमध्ये ४० प्रतिशत पोखरीमा क्षति पुगेको अनुमान गरिएको छ । माछा पोखरीको डिलभन्दा बढी पानी रहेको स्थानमा माछाहरू खेत र कुलामा बगेको थियो ।
स्थानीय माछा कृषक रन्जित कुशवाहाले माछापालक किसानहरूलाई व्यापक क्षति भएको बताए । उनले हरिया तरकारी खेती गरेका किसानहरूलाई पनि ठूलो क्षति पुगेको बताए । तर किसानहरूले भने अहिलेसम्म क्षति विवरण उपलब्ध गराएका छैनन् ।
सिम्रौनगढ नपा कृषि शाखाले वडाहरूबाट वर्षाका कारण भएको क्षतिको दाबी नगरिएको जनाएको छ । शाखाले वडाबाट क्षति विवरण पठाएको खण्डमा मात्र यकीन बताउन सकिने बताएको छ ।
शाखाले किसानहरूले कृषि बीमा नगरेका र सरकारबाट क्षति भएका किसानहरूलाई राहत घोषणा पनि नभएकोले क्षति विवरण उपलब्ध गराउन चासो नदेखाएको जानकारी गराएको छ ।


