प्रस, वीरगंज, १७ जेठ/
‘विश्व एकता र विश्वासका लागि ध्यान’ नाराका साथ शनिवार ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, वीरगंजको आयोजनामा ध्यान योग छाता कार्यक्रम सम्पन्न भएको छ ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, वीरगंजकी प्रमुख सञ्चालिका रविना दिदीको अध्यक्षतामा भएको कार्यक्रमको पूर्वमन्त्री एवं सांसद रमेश रिजालले उद्घाटन गरेका थिए ।
ध्यान योग छाता कार्यक्रम आज काठमाडौं, पोखरालगायतका देश र विदेशमा रहेका राजयोग सेवा केन्द्रहरूमा एकैसाथ सञ्चालनमा आएको प्रमुख सञ्चालिका रविना दिदीले बताइन् । कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री रिजालले ध्यान, योग र आध्यात्मिक साधनाका माध्यमबाट आत्मिक शुद्धता, मानसिक शान्ति र जीवनमा सकारात्मक परिवर्तन सम्भव हुने बताए । उनले भने–“आत्मा शुद्ध र सन्तुलित भएपछि समाजमा एकता, विश्वास र शान्ति स्थापित हुन्छ । आध्यात्मिक अभ्यास नै दिगो समाधान हो ।” पूर्वमन्त्री रिजालले ध्यान योग कार्यक्रमले व्यक्तिको अन्तरचेतनालाई उज्यालो बनाएर सामाजिक रूपान्तरणको मार्ग खोल्ने बताए ।
कार्यक्रममा ब्रह्मकुमार गुणराज भाइ, नेपाल रेडक्रस सोसाइटी वीरगंजकी उपाध्यक्ष मधु राणा, समाजसेवी उषा शाह, ओमप्रकाश गुप्ता, प्रकाश थारू, प्रेमबहादुर थापा, मीना दिदी, आकाश भाइलगायतको सहभागिता थियो ।

