सियोल, १३ जेठ/एएफपी
निर्वाचन हुन एक हप्ताभन्दा कम समय बाँकी रहँदा मङ्गलवार जारी ग्यालप सर्वेक्षणले दक्षिण कोरियाका विपक्षी नेता ली जे–म्युङ देशको अर्को राष्ट्रपति बन्ने दौडमा स्पष्ट अग्रस्थानमा रहको देखाएको छ ।
दक्षिण कोरियामा जून ३ मा मतदान हुँदैछ । निर्वाचनबाट पूर्व नेता युन सुक योलले डिसेम्बरमा नागरिक शासन निलम्बन गर्ने असफल प्रयास गर्दा शुरू भएको महीनौंको राजनीतिक उथलपुथल टुङ्गिनेछ ।
ग्यालपले डेमोक्रेटिक पार्टीका नेता लीलाई स्पष्ट अग्रस्थानमा राखेको छ । ४९ प्रतिशत उत्तरदाताले उनलाई सर्वोत्तम उम्मेदवारका रूपमा हेरेको बताएका छन् ।
सत्तारूढ पिपुल पावर पार्टीका पूर्व श्रममन्त्री किम मुन–सू ३५ प्रतिशत मतका साथ पछाडि छन् ।
दक्षिण कोरियाली युवाहरूलाई लक्षित गरेर चुनावी अभियान चलाइरहेको रिफर्म पार्टीका ली जुन–सिओक ११ प्रतिशत मतसहित तेस्रो स्थानमा छन् ।
ग्यालप कोरियाद्वारा फोनमार्फत सञ्चालित यो सर्वेक्षणले सप्ताहान्तमा एक हजार चार उत्तरदाताको सर्वेक्षण गरेको थियो, जसमा ३.१ प्रतिशत अङ्कको त्रुटि सीमा रहेको बताइएको छ ।
सर्वेक्षणले राजधानी सियोल, इन्चियन र ग्योङ्गीका सबैभन्दा बढी जनसङ्ख्या भएका क्षेत्रहरू सुरक्षित गर्दै डेमोक्रेटिक पार्टीका नेताले लगभग सम्पूर्ण देशमा सहज जीत हासिल गर्ने सुझाव दिएको छ ।
तेस्रो स्थानमा रहेका ली जुन–सिओकले वामपन्थी ली जे–म्युङलाई जित्नबाट रोक्नका लागि आफ्नो राष्ट्रपतीय उम्मेदवारी त्याग्न कन्जरभेटिभहरूको बढ्दो दबाबको सामना गर्नुपरेको छ ।
तर मतपत्रमा आफ्नो नाम स्पष्ट रूपमा देखिने घोषणा गर्दै ४० वर्षीय उनी निर्वाचन लड्न दृढ छन् ।
मङ्गलवारको सर्वेक्षणले ली जे–म्युङले एकीकृत कन्जर्भेटिभ उम्मेदवारको सामना गरे पनि जित्ने सङ्केत गरेको छ ।
सर्वेक्षणमा सहभागी करीब पाँच प्रतिशतले आफूसँग कुनै प्राथमिकता नभएको वा सबैभन्दा राम्रो उम्मेदवार को हुनेछ भन्ने थाहा नभएको बताएका छन् ।
यो सर्वेक्षण अर्को सप्ताहको मतदान अघि जारी गरिने अन्तिम सर्वेक्षणमध्ये एक हो, किनभने त्यसपछि सर्वेक्षण प्रकाशन गर्न प्रतिबन्ध छ ।
कन्जरभेटिभ उम्मेदवार किमले युनको मार्शल कानूनको पराजयपछि जनताको ध्यान खिचेका थिए, जब उनले नागरिक शासनको निलम्बन रोक्न असफल भएकोमा जनतासँग माफी माग्न अस्वीकार गरे ।
हप्तौंसम्म ली जे–म्युङभन्दा पछि परेपछि उनी बिस्तारै नजीक आइरहेका छन् । नेक्स्ट रिसर्चले सोमवार जारी गरेको एक सर्वेक्षणले दुई उम्मेदवारबीचको अन्तर राष्ट्रव्यापी ९ प्रतिशत विन्दुमा सङ्कुचित भएको र सियोलमा मात्र ३.२ अङ्कमा झरेको देखाएको छ ।
ली सन् २०२२ को राष्ट्रपति चुनावमा युनसँग देशको इतिहासमा कुनै पनि मतको सबैभन्दा सानो अन्तरले पराजित भएका थिए । रासस
