प्रस, वीरगंज, ८ साउन/
श्रीसिया नदीको प्रदूषण नियन्त्रणका लागि बिहीवार वीरगंज महानगरमा छलफल भएको छ । छलफलमा सहभागी खानेपानीमन्त्री प्रदीप यादवले श्रीसिया नदीको संरक्षण तथा प्रदूषण न्यूनीकरणलाई सङ्घ सरकारले प्राथमिकतामा राखेको बताए । उनले श्रीसिया नदीको प्रदूषण समस्यालाई तत्काल नियन्त्रण गर्न र दीर्घकालीन समाधानका लागि योजनाबद्धरूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री यादवले एशियाली विकास बैंकको ऋण सहयोग र खानेपानी मन्त्रालयको सहलगानीमा आवश्यक बजेट विनियोजन गरी कार्ययोजना निर्माण भइरहेको जानकारी गराए । उनले मन्त्रालयका तर्फबाट दीर्घकालीन योजना तयार पार्दै नदी संरक्षणका लागि अविलम्ब कार्यान्वयन गरिने बताए । मन्त्री यादवले वीरगंज महानगरपालिकालाई यथाशीघ्र आवश्यक प्रस्ताव पेश गर्न सुझाए । उनले श्रीसिया नदीको सफाइ तथा प्रदूषण रोकथामका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक भएको बताए ।
नगरप्रमुख राजेशमान सिंहले वीरगंज महानगरपालिकाले प्रदूषण नियन्त्रणका प्रस्तावहरू तयारी अवस्थामा रहेको जानकारी गराउँदै सङ्घ सरकारसँग आवश्यक समन्वय र समर्थनको अपेक्षा गरिएको बताए ।
श्रीसिया नदीको प्रदूषण हटाउनका लागि नगरप्रमुख सिंह निर्वाचित भएपछि पहिलो एजेन्डाको रूपमा अघि सारेका थिए । यससम्बन्धमा महानगरले समिति बनाएर काम अघि बढाएको थियो । निरन्तर अनुगमन, सरोकारवालासँगको छलफलका साथै नदी प्रदूषणमा सहभागी उद्योगहरूलाई दण्ड जरिवाना गरिए पनि श्रीसिया नदी प्रदूषणमुक्त हुनै सकेको छैन ।
पछिल्लो समय श्रीसिया नदी झनै प्रदूषित हुँदै गएको छ । उद्योगहरूले प्रदूषित पानी सीधैं नदीमा विसर्जन कार्य रोकेका छैनन् भने महानगरले दिएको चेतावनीका बावजूद उद्योगहरूले पानी प्रशोधन केन्द्र जडान गरेका छैनन् ।
