कोलम्बो, ४ साउन/एएफपी
श्रीलङ्काको स्वतन्त्र नियामकले, सन् २०१९ को इस्टर सन्डे बम विस्फोट रोक्न असफल भएकोमा, एकजना वरिष्ठ प्रहरी अधिकारीलाई बर्खास्त गरेको छ । उक्त बम विस्फोटमा ४५ विदेशीसहित २७९ जनाको मृत्यु भएको थियो । राष्ट्रिय प्रहरी आयोगले इस्लामिक चरमपन्थीहरूको आसन्न आक्रमणको पूर्व चेतावनीलाई बेवास्ता गरेकोमा तत्कालीन राज्य गुप्तचर सेवा (एसआइएस) का प्रमुख निलन्था जयवर्दनालाई बर्खास्त गरेको हो ।
अदालतको रेकर्डले जयवर्दनालाई सन् २०१९ अप्रिल २१ मा तीनवटा होटल र तीनवटा चर्चलाई लक्षित गरी भएको समन्वित आत्मघाती आक्रमणको १७ दिन अघि सम्भावित आतङ्कवादी हमलाबारे सचेत गराइएको देखाएको छ । बम विस्फोटमा ५०० भन्दा बढी मानिस घाइते भएका थिए । सेवानिवृत्त न्यायाधीशको नेतृत्वमा अनुशासनात्मक अनुसन्धानले जयवर्दनालाई लापरवाही र कर्तव्य अवहेलनाका सबै सातवटा मामिलामा दोषी ठहर गरेको प्रहरी आयोगले शनिवार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “आरोपको गम्भीरतालाई ध्यानमा राख्दै आयोगले उनलाई अधिकतम सजाय दिने निर्णय गरेको छ”–विज्ञप्तिमा भनिएको छ ।नागरिकहरूमाथि श्रीलङ्काको सबैभन्दा खराब आतङ्कवादी आक्रमणका रूपमा इस्टर बम विस्फोटपछि जयवर्दनालाई एसआइएस प्रमुखको पदबाट हटाइयो तर प्रशासनको निरीक्षण गर्ने प्रहरी बलको उपप्रमुखको भूमिकामा बढुवा गरिएको थियो । यद्यपि उनीविरुद्ध कारबाई गर्न बारम्बार न्यायिक आदेशपछि अनुशासनात्मक सुनुवाइका लागि उनलाई एक वर्ष अघि अनिवार्य बिदामा राखिएको थियो । आक्रमणको केही समयपछि शुरू गरिएको उच्चस्तरीय अनुसन्धानले तत्कालीन राष्ट्रपति मैत्रीपाला सिरिसेना र जयवर्दनासहित उनका चार वरिष्ठ अधिकारीलाई उनीहरूको गल्तीका लागि आपराधिक अभियोजनको सामना गर्नुपर्ने पत्ता लगाएको थियो । नागरिक मुद्दापछि सन् २०२३ जनवरीमा जारी गरिएका सर्वोच्च अदालतका आदेश अनुसार उनीहरूले पीडितहरूलाई १० लाख डलरभन्दा बढी क्षतिपूर्ति तिरेका छन् । सन् २०१९ को बम विस्फोट, इस्लामिक स्टेटप्रति वफादारीको वाचा गर्ने स्थानीय जिहादी समूहमाथि दोष लगाइएको थियो । राष्ट्रपति अनुराकुमार दिसानायके नेतृत्वको श्रीलङ्काको नयाँ सरकारले इस्टर हमलाको अनुसन्धान बढाउने र बम विस्फोटका लागि जिम्मेवार व्यक्तिहरूको पर्दाफाश गर्ने वाचा गरेको छ । रासस