• About
  • Advertise
  • Careers
  • Contact
Saturday, December 13, 2025
6 °c
Ashburn
11 ° Sun
2 ° Mon
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार शिक्षा नेपाल

शिक्षक–कर्मचारी र संस्थागत विद्यालय

प्रतीक दैनिक by प्रतीक दैनिक
September 27, 2020
in शिक्षा नेपाल
0 0
0
शिक्षक–कर्मचारी र संस्थागत विद्यालय
0
SHARES
0
VIEWS
Share on Facebook

– अनन्तकुमार लाल दास
    कोभिड महामारीको यस कालमा एकातिर सबै थोक रोकिएको अनुभव भइरहेको छ भने अर्कोतिर एउटा अप्रत्यक्ष भयसँग दिनहुँ सामना गर्नुपरिरहेको छ। हुनत कोभिड महामारी रोक्ने कुनै पनि सामाजिक र आर्थिक पर्खाल प्रभावी देखिएन तर यसको अन्तिम प्रभाव तिनैमाथि पर्ने बढी सम्भावना छ जो सामाजिक र आर्थिक रूपले पिछडिएका छन्। विद्यालय शिक्षा जो असमानतासँग जुधिरहेको थियो र जहाँ संस्थागत र सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरूबीच वर्ग बनेको थियो त्यहीं यस महामारीले ती वर्गबीचको दूरी बढाउने काम गरेको छ। विडम्बना त के छ भने देशका धेरैजसो पालिकाहरूले विभिन्न प्रकारको वैकल्पिक व्यवस्था गरी विद्यालय सञ्चालन गर्न सूचना जारी गरिसकेका छन् तर वीरगंजमा शिक्षा छलफलमा मात्र सीमित छ।  
    एकातिर सामुदायिक विद्यालयलाई सरकारले धेरै सुविधाको घोषणा गरेको छ, त्यहीं संस्थागत विद्यालयमा पढाउने धेरैजसो शिक्षक घरमा बसेका छन्। उनीहरूको लागि विद्यालय वा सरकारले कुनै पनि प्रकारको सब्सिडी वा सहयोग प्रदान गरेको छैन। सहयोगको त कुरै छाडौं, गरेको काम वा श्रमको तलब पनि भुक्तान गरिएको छैन। आज उनीहरू पनि आन्दोलित हुन बाध्य छन् किनभने धेरैजसो शिक्षकको रिचार्ज एउटै फोनमा छ र उनीहरू यसलाई घ्यूजस्तै उपयोग गरिरहेका छन्, तर भान्साकोठामा एक थोपा घ्यू उब्रेको छैन। पकवानको साटो भोक टार्न सङ्घर्ष गर्नुपरिरहेको छ। दूध दुई पाकेटको साटो एक पाकेटमा  सीमित हुन पुगेको छ र त्यो पनि बन्द हुने अवस्था छ किनभने कहिलेसम्म कसैले उधारो दिन्छ। किरानाको पसल हरेक दुई–तीन दिनमा परिवर्तन भइरहेको छ। पसलेलाई प्राणप्रिय भाइजस्तो व्यवहार गर्नुपरिरहेको छ।
    यत्तिमात्र कहाँ हो र ! पसलेको छोरा–छोरीलाई शिक्षकले निश्शुल्क पढाइरहेका छन्। अब त उनीहरूले घरबेटीले भाडा नमागून् भनी भगवानसँग प्रार्थना गर्न थालेका छन्। उनीहरूका साना छोराछोरीले बिस्कुट र चकलेट खाने जिद्दी गर्न छाडेका छन्। कहिले काहीं यस परिस्थितिलाई सम्झेर रुन मन लाग्छ। कसैकी पत्नी गर्भवती छिन् भने कुनै महिला शिक्षिका स्वयं यस अवस्थाबाट गुज्रिरहेकी छिन्। आउने सन्ततिलाई कस्तो जीवन दिने भन्ने चिन्तामा राति निद्रा लाग्दैन। कसैको घरमा बुजुर्ग बीमार छन् भने कोही शिक्षक स्वयं डायबिटिज वा ब्लड प्रेसरका रोगी छन्। संस्थागत विद्यालयको नाममात्रको तलबमा जेनतेन एउटा शिक्षकले आफ्नो परिवार पालेको थियो तर आज अभिभावकहरूले फी तिर्दैनन् भने तलब कहाँबाट दिने ? हाम्रो स्थिति पनि तपाईंजस्तै छ, भन्ने विद्यालय सञ्चालकको जवाफ, अपवादबाहेक सर्वत्र सुनिन्छ।    

           
    हरेक मानिसले एउटा सपना बोकेको हुन्छ। ऊ आफ्नो सपनाको भवन निर्माण गर्न दिनरात परिश्रम गर्छ तर कालान्तरमा आफूलाई अरूको भवन बनाउने औजारको रूपमा पाउँछ। ऊसँग मजबूत हौसला पनि हुन्छ तर त्यो कुनै काम लाग्दैन। ठीक यस्तै हालत कुनै संस्थागत विद्यालयमा काम गर्ने शिक्षक वा कर्मचारीहरूको हुन्छ तर पनि उनीहरू आफूलाई खुशी राख्छन्। यसमा वास्तविक खुशीको कुनै योगदान हुँदैन, आफू असफल भएको भन्न नरुचाएको अभिव्यक्ति मात्र हो यस्तो खुशी।
    कुनै जङ्गलमा एउटा सिंह बस्दथ्यो। सिंहले आफ्नो सेवाको लागि एउटा बाघ र स्याललाई राखेको थियो। ती दुवै सिंहको मन्त्री र सल्लाहकार पनि थिए। ती सिंहलाई शिकार गर्न मदत गर्दथे। सिंह बस्ने गुफा (विद्यालय) त्यस जङ्गल
(समाज) को पवित्र स्थल थियो जहाँ जे गरे पनि हुने मान्यता थियो। कहिलेकाहीं सिंहले संवेदनशीलता पनि प्रकट गर्दथे जसको प्रशंसा गरेर बाघ र स्यालले सिंहलाई खुशी पार्ने काम गर्दथे।
    एकपटक सिंहको लागि खानाको खोजमा मन्त्री र सल्लाहकार भौंतारिइरहेका थिए। त्यसै बेला उनीहरूको भेंट एउटा उँटसँग भयो। उँट चिन्तित देखा परिरहेको थियो। बाघले उँटलाई आफ्नो राजाको संवेदनशीलताको कथा सुनाएर चिन्ताको कारण सोध्यो। “म कामको खोजीमा घुमिरहेको छु” उँटले जवाफ फर्कायो। स्यालले इशारा ग–यो र बाघले उँटलाई आफ्नो राजा सिंहसँग भेट गर्ने प्रस्ताव अघि सा–यो। बाघले भन्यो–“हाम्रा राजा दयालु हुनुहुन्छ। तिमीलाई अवश्य आश्रय दिनुहुन्छ। तिमीलाई आफ्नै परिवारजस्तो माया गर्नुहुन्छ।” ठीक यस्तै संस्थागत विद्यालयका सल्लाहकारहरूले पहिलो भेटमा शिक्षकलाई सम्मान र विद्यालयबारे बखान गर्छन् र उनीहरू खुशी भई काम गर्न थाल्छन्।
    उँट यस आग्रहलाई ईश्वरको कृपा ठानी सिंहको दरबारमा पुग्छ। उँटको कथा सुनेर सिंहको संवेदनशीलता जाग्छ र भन्छ–“यहाँ तिमीलाई कुनै भय छैन। यदि तिमी यहाँ बस्न चाहन्छौ भने जीवनभरि आरामसँग बस्न सक्छौ।” हामीमध्ये धेरैले यही गर्छन् जुन त्यस बेला उँटले ग–यो। काम नभएको बेला बाघको वचन अमृतवर्षा लाग्नु स्वभाविक पनि हो। हामीभित्र विश्वासको कमी हुन्छ यस कारण थोरै विश्वास प्राप्त हुनासाथ हामी त्यसप्रति कृतज्ञ हुन्छौं।
    उँट पनि खुशी–खुशी त्यहाँ काम गर्न थाल्छ। एकपटक त्यहाँ दैवी प्रकोपले गर्दा शिकारको अभाव हुन्छ। शिकार नपाएर सबैको भोक पनि बढ्न थाल्छ। स्यालले सङ्केतको माध्यमले उँटलाई उत्तम शिकारको रूपमा सिंह समक्ष बाघलाई प्रस्ताव गर्न लगाउँछ तर वचनको पक्का सिंह उँट मार्न चाहँदैन तर भोकले मन्त्री र सल्लाहकारको मात्र हैन सिंहको पनि स्थिति दयनीय थियो। अन्त्यमा पुनः बाघसँग सल्लाह गरी स्यालले एउटा उपाय निकाल्छ।
    सबैभन्दा पहिले बाघले सिंहलाई भन्छ–“महाराज, तपाईं भोको रहेको मसँग सहन भइरहेको छैन। कृपया, मलाई तपाईंको आहार बन्ने मौका दिनुहोस्।” राजा सिंहले त्यस प्रस्तावलाई अस्वीकार गर्छ। त्यसपछि स्यालले सोही प्रस्ताव सिंह अगाडि राख्छ। सिंहले भन्छ–“एक पटकको भोकको लागि यति पुरानो स्वामीभक्तहरूलाई खानु नीतिविरुद्ध हो।”
    बाघ र स्याललाई सिंहको भोकले बेचैन पारेको तर पनि सिंहले उनीहरूलाई मारेर भोक मेट्ने उपक्रम नगरेकोले सोझो उँटले आफूलाई आहारको रूपमा प्रस्तुत गदै–“यो त मेरो कर्तव्य हो” भन्छ। सिंहले केही जवाफ फर्काउँदैन तर यो सुन्नासाथ बाघले उँटको घाँटीमाथि प्रहार गर्छ र पछि स्यालले पनि उसको सहयोग गर्छ र सबैले उँटलाई आफ्नो आहार बनाउँछन्। यसबाट के प्रस्ट हुन्छ भने यो सहयोग बाघ र स्यालले सिंहप्रति कर्तव्य ठानेर गर्छन्। यस परिवेशमा सिंहलाई मौन बसेको हेरेर उनी दुवैलाई आफूमाथि गर्व पनि हुन्छ र विद्यालयका लागि एउटा नीति पनि निर्माण हुन्छ।
    यस कथाले संस्थागत विद्यालयकोे पाठ्यक्रम कस्तो छ भन्ने पनि झल्काउँछ। यहाँनिर ध्यान दिनुपर्ने कुरो के हो भने यस कथाका नीति निर्धारकहरू मांसाहारी थिए र शिक्षक उँट शाकाहारी थियो। स्याल र बाघले मिलेर उँटमा मित्रत्व जागरण गरे। अर्थात् दुःख र तृप्तिको नीति विद्यालयको हितलाई ध्यानमा राखेर तयार गरिन्छ। त्यसका लागि भावनात्मक आचरण तयार गर्ने काम अधिकारीहरूले गर्छन्। यस कथामा के पनि देखा पर्छ भने उँट सोझै सिंहको संरक्षणमा छ तर सिंहले बाघ र स्यालको माध्यमले यसलाई ग्रहण गरी पाप गर्नबाट जोगिएको देखाउँछ।
    संस्थागत विद्यालयमा प्रायः सञ्चालक त्यस बेला मौन रहन्छन् जुनबेला उनीहरूको व्यापक हितमा कुनै प्रिय शिक्षकको बलि दिनुपर्ने हुन्छ। उनी पनि यस बलिमा सहभागी हुन्छन् तर विद्यालयको हितमा काम गरिरहेको देखा पर्छन्। उनीहरू स्वयंलाई वचनबद्धताको उदाहरण बनाएर राख्छन् तर उनका खास कर्मचारीहरूले काम गरिरहेका हुन्छन्। यस्तै प्रत्येक विद्यालयमा एक दुईजना यस्ता शिक्षक हुन्छन् जो संस्थापकको इशारामा काम गरिरहेका हुन्छन् तर शिक्षकको शोषण गर्ने काम संस्थापकको इशारामा नै हुने गर्दछ।
    यस कथालाई सम्झिने शिक्षकहरूको यस परिस्थितिमा के भूमिका हुनुपर्छ भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ। प्रवृत्ति विरुद्ध मैत्री वातावरणमा यदि आश्रय र सुरक्षाको ग्यारेन्टी हुन्छ भने पनि त्यसलाई स्वीकार गर्नुपूर्व कैयौंपटक सोच्नुपर्छ। विद्यालयका संस्थापक सिंह कहिल्यै परिवर्तन हुँदैन र विश्वस्त सहायक बाघ र स्याल त त्यस चक्रको अभिन्न अङ्ग नै हुन्छन्। यस कारण यिनीहरूको भावनायुक्त शब्दजालमा परी बलिदान दिन अगाडि सर्नुहुँदैन।
    यहाँनिर ध्यान दिनुपर्ने अर्को कुरो के हो भने यदि विद्यालयको नीति नै मुनाफा केन्द्रित छ भने सिंह कहिले पनि उँटको रक्षा गर्न अघि सर्दैन। यस कार्यमा स्यालजस्ता सहयोगीले भावुकताको महौल तयार गर्छन्, बाघले उँटजस्ता सहयोगी शिक्षकलाई कसरी उपयोग गर्ने भन्ने योजना बनाउँछन्। उँटजस्ता शिक्षकहरूले के ध्यान दिनुपर्छ भने विद्यालयमा काम गर्दा आफ्नो भावनामाथि कडा नियन्त्रण राख्नुपर्छ र बाघ र स्यालजस्ता शिक्षकहरूको वाणीको अनुसरण उँट जस्ता शिक्षकहरूले गर्नुहुँदैन किनभने उनीहरूको नियुक्ति त्यसैका लागि गरिएको हुन्छ। यसका साथै सिंहसँग कुनै पनि प्रकारको अपेक्षा राख्नुहुँदैन।
    के तपाईं पनि उँट प्रवृत्तिको शिक्षक हुनुहुन्छ ? संस्थागत विद्यालयका यस्ता शिक्षकहरू आज्ञाकारी, परिश्रमी तथा लामो समयसम्म पानी नखाएर अनन्त मरुभूमिमा जीवन यात्राका लागि सर्वाधिक उपयुक्त हुन्छन्। संस्थागत विद्यालयहरूले यस्तै शिक्षकहरूलाई प्रारम्भिक कालमा खोजेर जम्मा गर्छन्। प्रधानाध्यापकदेखि पहरेदारसम्म यस्ता कर्मचारीहरू ‘अद्भूत’ कहलिन्छन्। सङ्घर्षको बेला यस्ता शिक्षकहरू निवेश र परिणामका लागि अद्भूत बदलावका कारक हुन सक्छन् किनभने यस्ता शिक्षकहरू लगनपूर्वक काम गर्छन्।
    बीचबीचमा यिनीहरूमाझ वा बाटोमा सञ्चालक भेट्दा बडो मीठो कुरा गर्छन् र पिठ्यूँमा धाप दिंन्छन्, यस्ता शिक्षक आफूलाई बडो कृतज्ञ ठान्छन्। उनीहरूलाई के लाग्छ भने विद्यालयको भविष्य हाम्रै हातमा छ तर यो विद्यालयको नीति हुन्छ। यस नीतिबारे कसैलाई थाहा हुँदैन। यसैको फाइदा सञ्चालकहरू उठाउँछन्।
    सञ्चालकहरूको यस्तो व्यवहारले शिक्षक–कर्मचारीलाई संस्थाप्रति जवाफदेह र जिम्मेवार बनाउने काम गर्छ तर यसमा सञ्चालकहरूकै स्वार्थ लुकेको हुन्छ। यसरी शिक्षकहरूले आफ्नो कामप्रति इमानदारिता देखाउनुका साथै अरूलाई पनि कामप्रति इमानदार बन्ने प्रेरणा दिन्छन्। अहोरात्र खटेर विद्यालयलाई उन्नतिको शिखरमा पु–याउँछन्। यसबाट विद्यालय सञ्चालकहरूलाई त प्रशस्त लाभ हुन्छ तर शिक्षकहरूको हात रित्तो नै रहन्छ। यही नै संस्थागत विद्यालय र शिक्षक–कर्मचारीबीचको यथार्थ हो।

Previous Post

अनावश्यक विवाद

Next Post

सोचको फरक

Next Post

सोचको फरक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.