प्रस, पोखरिया, २ असोज/
पर्साको ग्रामीण क्षेत्रमा विश्वकर्मा पूजा धूमधामले मनाइएको छ।
कोरोना सङ्क्रमणको कारण स्थानीय प्रशासनले मठमन्दिर, मस्जिदमा पूजापाठ, प्रार्थनामा रोक लगाएको र बीसजनाभन्दा बढी भीड हुने गरी कुनै पनि कार्यक्रम गर्न निषेध गरिएकोमा विश्वकर्मा पूजा गर्नेहरूले सो आदेशको पालना गरेनन्।
पोखरिया नगरपालिका–३ वसन्तपुर, कालिकामाई गाउँपालिका–१ मुडली र जगरनाथपुर गापा–५ चिलझप्टीमा विश्वकर्मा पूजा धूमधामले गर्नुका साथै राति सयौंको सङ्ख्यामा भीड जम्मा गरी गायक मगाएर भीडभाडमा सांस्कृतिक कार्यक्रम गरिएको थियो। राति १ बजेसम्म सांस्कृतिक कार्यक्रम आयोजना गरिएको र त्यसमा स्वास्थ्य तथा सुरक्षाको मापदण्ड अपनाइएको थिएन।
यसैगरी, विश्वकर्मा बाबाको आज मूर्ति सेलाउने क्रममा पनि ठूलो सङ्ख्यामा मानिसको भीड रह्यो।
वीरगंज–१९ तिलावे पुलमा मूर्ति सेलाउने क्रममा मानिसहरूको ठूलो भीड देखिएको थियो।


