जिल्ला प्रहरी कार्यालय धनुषाले सोमवार पत्रकार सम्मेलन गरी जनकपुरस्थित होटल एसपी एन्ड गेस्टहाउसमा शनिवार राति युवकको हत्या आरोपमा पक्राउ परेकी युवतीलाई सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक नरहरि रेग्मीले महोत्तरी जिल्ला महोत्तरी गापा–१ निवासी २८ वर्षीय सनी भनिने विमलेश यादवको हत्या गरेको आरोपमा महोत्तरीको बलवा नगरपालिका–७ बनौटा निवासी २४ वर्षीया जुली झालाई पक्राउ गरिएको बताए । उनले शनिवार राति होटलमा प्रवेश गरेका विमलेश करीब पाँच घण्टापछि नग्न र रक्ताम्य अवस्थामा पहिलो तल्लाबाट खसेको होटलको सिसीटीभी फुटेजबाट देखिएको बताए ।
लगत्तै युवती जुली झा तल ओर्लेर भागिरहेको देखिएको र सोको आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदै आइतवार दिउँसो झालाई नियन्त्रणमा लिएको बताए ।
प्रारम्भिक अनुसन्धान अनुसार हत्या विवाहेत्तर सम्बन्धका कारण भएको खुलेको र घटनाबारे थप अनुसन्धान जारी रहेको उनले बताए ।


