प्रस, वीरगंज, ८ जेठ/
पर्सा जिल्लामा विद्यालय भर्ना अभियान सकिएको छ । वैशाख २ गतेदेखि शुरू गर्ने भनिएको यो अभियान नेपाल शिक्षक महासङ्घको राजधानी केन्द्रित लामो आन्दोलनका कारण निर्धारित समयमा शुरू हुन सकेको थिएन । आन्दोलन सकिएपछि वैशाख १४ गतेदेखि शिक्षकहरू यो अभियानमा सक्रिय भएका थिए ।
पछिल्लो कार्यसूची अन्तर्गत जेठ ७ गतेसम्म भर्ना अभियान सञ्चालन भएको शिक्षा विकास समन्वय एकाइ कार्यालय पर्साका प्रमुख हरि राउतले बताए । उनले पर्सा जिल्लामा ३६७ वटा सामुदायिक विद्यालय रहेका र भर्ना अभियान सम्पन्न भएपछि सबैको तथ्याङ्क आइनसकेको र केही दिनमैं तथ्याङ्क सङ्कलन हुने बताए ।
पर्सा जिल्लामा रहेका ३६७ वटा सामुदायिक विद्यालयमा एक लाख २७ हजार ३३५ जना अध्ययनरत रहेको २०८१ सालको तथ्याङ्कले देखाएको उनले बताए । संस्थागत (निजी) विद्यालयहरूमा सो अवधिमा ३३ हजार २५३ जना विद्यार्थी अध्ययनरत रहेको उनले बताए ।
प्रमुख राउतले २०८२ सालको नयाँ शैक्षिक सत्रमा वीरगंज महानगरमा रहेका अङ्ग्रेजी माध्यमका चारवटा सामुदायिक विद्यालयले भर्ना अभियानअगावै विद्यार्थी भर्ना रोक्नुपरेको बताए । अङ्ग्रेजी माध्यमबाट अध्यापन हुने महानगरका त्रिजुद्ध, नृसिंह, माईस्थान विद्यापीठ र सिद्धार्थ माविले जेठ ७ गतेअगावै भर्ना अभियान रोक्नुपरेको उनले बताए । यी चारवटा विद्यालयमा विद्यार्थी भर्नाका लागि आवश्यक आवेदनभन्दा अत्यधिक विद्यार्थीहरूले आवेदन दिएका कारण निर्धारित समयअगावै भर्ना अभियान रोक्नुपरेको बताए ।
अङ्ग्रेजी माध्यममा अध्ययनका लागि विद्यार्थीहरूको आकर्षण बढेकाले चार विद्यालयमा भर्ना अभियानअगावै विद्यार्थीहरूको चाप बढेकाले भर्ना अभियान रोक्नुपरेको तर अन्य विद्यालयहरूमा भने जेठ ७ गतेसम्म भर्ना अभियान सञ्चालन भएको बताए ।
दलित विद्यार्थी भर्ना अभियान प्रभावित पर्सा जिल्लामा विद्यालयबाहिर रहेका करीब आठ हजार दलित विद्यार्थीमध्ये थोरै सङ्ख्यामा विद्यालय भर्ना भएको पिस फर दलित्स फाउन्डेशनका अध्यक्ष मनोज रामले बताए ।
उनले फाउन्डेशनले सञ्चालन गर्दै आएको सखुवाप्रसौनी गापा अन्तर्गतको महुवन, कौवावन, कटैया तथा विन्ध्यवासिनी गापा गरी चार स्थानमा निश्शुल्क ट्युशन लिंदै आएका पाँच सयजना विद्यालयबाहिर रहेकाहरूलाई चालू शैक्षिक सत्रमा भर्ना गरिएको अध्यक्ष रामले बताए ।
उनले यो भर्ना अभियानमा निश्शुल्क ट्युशन लिइरहेका तर विद्यालय नगएका सबैलाई भर्ना गराइएको बताए । अध्यक्ष रामले पर्सा जिल्लामा करीब आठ हजार दलित विद्यार्थी विद्यालयबाहिर रहेका र उनीहरूलाई विद्यालय भर्ना अभियानमा पालिका, विद्यालय, शिक्षक, अभिभावक र सरोकारवाला संस्थाहरूले चासो देखाए, नदेखाएका बारेमा जानकारी नभएको बताए ।
उनले हिजो मात्र भर्ना अभियान सकिएको र केही दिनमा विद्यालयबाहिर रहेका दलित विद्यार्थीहरूको भर्नाबारेमा थप जानकारी प्राप्त हुने बताए ।


