प्रस, रौतहट, ९ साउन/
रौतहट जिल्लामा करेन्ट लागेर एक सातामा २७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जानकारी गराएको छ । खासगरी अहिले सुक्खाग्रस्त क्षेत्रमा किसानहरूले सिंचाइका लागि पानी तान्ने विद्युतीय मोटरको प्रयोग गर्ने क्रममा करेन्ट लागेर मृत्यु हुने क्रम बढेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार असार २८ देखि साउन ३ गतेसम्म करेन्ट लागेर २७ जनाको मृत्यु भइसकेको छ । अहिले नियमितजसो करेन्ट लागेर मानिसहरूको मृत्युदर बढेपछि जिल्ला प्रहरी कार्यालय, रौतहटले सूचना जारी गर्दै नागरिकहरूमा सावधानी अपनाउन आग्रह गरेको छ ।
प्रहरीले जारी गरेको अपीलमा खाली छत वा खुला जमीन भएको स्थानमा विद्युत्को नाङ्गो तार नराख्न, घरमा नाङ्गो विद्युत् मिटर नराख्न, जडान गर्दा योग्य प्राविधिकको सहयोग लिन, विद्युत् बोर्ड वा स्वीच बालबालिकाको पहुँचभन्दा बाहिर राख्न, हावाहुरी, वर्षा वा पानी जमेको अवस्थामा विद्युतीय उपकरण नछुन, घरको बत्ती, तार, मिटरलगायत उपकरणमा गडबडी देखिए तुरुन्त मर्मत गराउन, रातको समयमा अँध्यारोमा विद्युत् सञ्जाल प्रयोग नगर्न, खेतबारीमा पानी पटाउने क्रममा एउटै उपकरण सबैले प्रयोग नगर्न, अवैधरूपमा विद्युत् लाइन जडान नगर्न, विद्युत्का तार, पोल वा बोर्ड आसपासमा बच्चालाई खेल्न नदिन र यसबाहेकका सावधानीहरू पनि अपनाउनका लागि आग्रह गरिएको छ ।
यस प्रकारका कार्यविरुद्धका गतिविधि जोखिमपूर्ण हुने हुँदा सबैलाई सावधान रहन प्रहरीले आग्रह गरेको छ ।

