अन्टाल्या (टर्की), १ जेठ/एपी
अमेरिकी विदेशमन्त्री मार्को रूबियो र उनका नाटो समकक्षीहरू बिहीवार टर्कीमा भेट गर्दैछन् । रूबियोले आगामी महीना हुने गठबन्धन नेताहरूको महत्त्वपूर्ण शिखर सम्मेलनको तयारी गर्नेछन्, जसले अमेरिका अन्यत्र चुनौतीहरूमा केन्द्रित भइरहेको बेला भविष्यको युरोपेली सुरक्षाको दिशा तय गर्नेछ ।
रूबियो र राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेषदूत स्टिभ विटकफले शुक्रवार भाग लिने योजना बनाएको इस्तानबुलमा हुने वार्तासहित रूस र युक्रेनबीच युद्धविराम सम्झौता गर्ने उद्देश्यले भएको वार्ताको बीचमा भूमध्य तटीय शहर अन्टाल्यामा यो बैठक हुँदैछ । रूबियो र विटकफ, ट्रम्पको खाडी–अरब देशहरूको यात्राका केही भागमा साथ दिएर टर्की आउँदै छन् ।
नाटो बैठकको छेउमा युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिहाले बुधवार रूबियोसँग भेट गरे । सिबिहाले छुट्टाछुट्टै नयाँ जर्मन विदेशमन्त्री जोहान वाडेफुल र टर्कीका विदेशमन्त्री हाकान फिदानसँग पनि कुराकानी गरिरहेका छन् । टर्कीरूस–युक्रेन युद्ध अन्त्य गर्ने सम्झौता गराउन मदत गर्ने प्रयास गरिरहेको छ ।
टर्कीको विदेश मन्त्रालयका अनुसार सिबिहा र फिदानले बुधवार युद्धविराम स्थापना गर्ने प्रयास र रूससँग स्थायी शान्ति सुनिश्चित गर्ने कदमहरूबारे छलफल गरेका थिए ।
युक्रेनबारे टर्कीमा पनि वार्ता
नाटोका विदेशमन्त्रीहरू भेला हुने दिन युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको अङ्कारामा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेट गर्ने तयारी गरिएको छ । ट्रम्प वा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बिहीवार भाग लिनेछन् कि छैनन् अज्ञात छ ।
बुधवार साउदी अरेबियाबाट कतार उडान गर्दा ट्रम्पले इस्तानबुलको सम्भावित भ्रमणको सङ्केत गरेका थिए तर उनको भ्रमण योजनाहरू परिवर्तन हुने कुनै तत्काल सङ्केत थिएन ।
“उहाँ मलाई त्यहाँ राख्न चाहनुहुन्छ र त्यो एउटा सम्भावना हो”–पुटिनलाई उद्धृत गर्दै ट्रम्पले भने–“म त्यहाँ नभएको भए उहाँ त्यहाँ हुनुहुने थियो भन्ने मलाई थाहा छैन । हामी पत्ता लगाउने छौं ।”
जेलेन्स्कीले रूससँग प्रत्यक्ष वार्ताका लागि दबाब दिंदै आएका छन् तर पुटिन उपस्थित भए मात्र । पहिलेका यस्ता आह्वानहरू अस्वीकार गरेका पुटिन अलमलमा परेका छन् र बैठकमा प्रतिबद्धता जनाएका छैनन् ।
क्रेमलिनले बुधवार पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले रूसी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने बताएको छ । प्रतिनिधिमण्डलमा उपरक्षामन्त्री अलेक्जान्डर फोमिन, उपविदेशमन्त्री मिखाइल गालुजिन र जनरल स्टाफको मुख्य निर्देशनालयका प्रमुख इगोर कोस्ट्युकोभ पनि सामेल हुनेछन् । सूचीमा पुटिनले आपूmलाई समावेश गरेनन् ।
युक्रेन नाटोमा सामेल हुन उत्सुक छ, जसलाई रूसले दृढतापूर्वक अस्वीकार गरेको छ र ट्रम्प यसमा सहमत भएका देखिन्छन् । त्यसैले अन्टाल्यामा युक्रेनी उपस्थिति भएपनि सैन्य गठबन्धनमा युक्रेनको भविष्यबारे कुनै निर्णय हुने सम्भावना कम देखिन्छ ।
नाटो सदस्यहरूलाई रक्षामा थप खर्च गर्न दबाब दिंदै ट्रम्प प्रशासन अमेरिकाका लागि अझ ठूलो चिन्ताको विषय पैसा हो । ट्रम्प प्रशासनले युरोपेली नाटो सदस्यहरू र क्यानाडाले कसरी आप्mनो राष्ट्रिय रक्षा लगानीलाई कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच प्रतिशतसम्म बढाउने योजना बनाएका छन् भन्ने सुन्न चाहेको बताएको छ ।
सन् २०२३ मा युक्रेनमा रूसको पूर्ण–स्तरको युद्ध यसको दोस्रो वर्षमा प्रवेश गर्दा नाटो नेताहरूले राष्ट्रिय रक्षा बजेटमा जिडिपीको कम्तीमा दुई प्रतिशत खर्च गर्न सहमत भएका थिए । अहिलेसम्म ३२ सदस्य राष्ट्रमध्ये २२ ले त्यसो गरिसकेका छन् ।
नेताहरूले जून २५ मा हेगमा हुने शिखर सम्मेलनमा नयाँ लक्ष्य निर्धारण गर्नेछन् । अमेरिकी सहयोगीहरूले आफ्नो रक्षा गर्न तयार हुन कम्तीमा पाँच प्रतिशत खर्च गर्न प्रतिबद्ध हुनुपर्छ भन्ने कुरामा ट्रम्प जोड दिन्छन् तर यसका लागि अभूतपूर्व लगानी आवश्यक पर्नेछ ।
ट्रम्पले खर्च कमगर्ने सहयोगीहरूको अमेरिकाले रक्षा गर्ने कुरामा शङ्का व्यक्त गरेका छन् । नाटो आँकडाले देखाए अनुसार अमेरिकाले गत वर्ष ३.३८ प्रतिशत खर्च गरेको अनुमान थियो, एकमात्र सहयोगी जसको खर्च पछिल्लो दशकमा घटेको छ । गत महीना अमेरिकाले पाँच प्रतिशत लक्ष्य पूरा गर्छ कि भनेर सोधिएको प्रश्नमा रूबियोले भने–“अवश्य । हामी अहिले त्यहाँ जाँदैछौ ।”
“कुनै भ्रममा नपर्नुहोस्, यो मन्त्रिस्तरीय बैठक फरक हुन गइरहेको छ”–नाटोका लागि अमेरिकी दूत म्याथ्यु ह्वाइटेकरले यस हप्ता भने–“पाँच प्रतिशत एउटा सङ्ख्या मात्र होइन, यो हाम्रो सुरक्षाका लागि आवश्यक छ । गठबन्धनले ठूलो खतराको सामना गरिरहेको छ ।”
उनले खतराहरूबारे विस्तृतरूपमा बताएनन् । नाटो नेताहरूले गत वर्षको शिखर सम्मेलनमा ‘रूस सहयोगीहरूको सुरक्षाका लागि सबैभन्दा महत्त्वपूर्ण र प्रत्यक्ष खतरा हो’ भनेर जोड दिएका थिए, तर केही देश पुटिनसँग ट्रम्पको पुनः सम्पर्कबारे असहज छन् ।
टर्कीका अधिकारीहरूका अनुसार बैठकको आयोजना गरिरहेका टर्कीका विदेशमन्त्री फिदानले टर्कीको नाटो सुदृढीकरणमा प्रतिबद्धता व्यक्त गर्ने र युरोपेली सुरक्षा तथा रक्षा पहलहरूमा टर्कीजस्ता युरोपेली सङ्घ (इयु) का सदस्य नभएका नाटो सहयोगीहरूलाई समावेश गर्न आग्रह गर्ने अपेक्षा गरिएको छ ।
फिदानले रूस–युक्रेन युद्धको अन्त्यमा मात्र नभई मध्यपूर्व र नाटो सदस्यहरू नजीकका क्षेत्रहरूमा स्थिरतामा केन्द्रित एक व्यापक ‘३६०–डिग्री सुरक्षा’ दृष्टिकोणको वकालत गर्ने अधिकारीहरूले बताए ।
उच्च रक्षा खर्चको योजना
यसैबीच विचाराधीन रक्षा खर्च योजना अनुसार सबै सहयोगीका लागि ‘सन् २०३२ सम्म कडा सैन्य खर्च’ मा जिडिपीको ३.५ प्रतिशत र अतिरिक्त १.५ प्रतिशत सम्बन्धित खर्च (पूर्वाधार, साइबर सुरक्षा र यस्तै चीजहरू) मा लक्षित गर्ने देखिन्छ ।
दुई आँकडा जोड्दा पाँच प्रतिशत हुन्छ । पूर्वाधार र साइबर सुरक्षा समावेश गर्दा नाटोले परम्परागतरूपमा रक्षा खर्च गणना गर्ने आधारमा परिवर्तन हुनेछ । सात वर्षको समयावधि पनि गठबन्धनको सामान्य मापदण्ड अनुसार छोटो छ ।
अमेरिकी नाटो राजदूत ह्वाइटेकर यो हप्ता योजनाको पुष्टि गर्न देखा परे । उनले भने–“यसमा गतिशीलता, आवश्यक पूर्वाधार, साइबर सुरक्षाजस्ता कुराहरू पनि समावेश छन् । यो निश्चित रूपमा मिसाइल, ट्याङ्क र होवित्जरहरू भन्दा बढी हो ।”
कति सहयोगी जिडिपीको ३.५ प्रतिशतसम्म पुग्न सक्छन् भनेर हेर्न गा¥हो छ । टर्कीमा भएको बैठकले थप स्पष्टता प्रदान गर्न सक्छ । रासस