पेरिस, १५ जेठ/एएफपी
हाम्रो सौर्यमण्डलको किनारमा अन्धकारमा एउटा विशाल र रहस्यमय ग्रह लुकेर बसेको छ । केही खगोलशास्त्रीले नेप्च्युनभन्दा पर हिउँले ढाकिएका चट्टानहरूको अनौठो, गुच्छाले त्यहाँ केही ठूलो छ भनेर सङ्केत गरेको बताएका छन् । त्यसलाई उनीहरूले प्लानेट नाइन नाम दिएका छन् ।
२०१७ ओएफ २०१ नाम दिइएको नयाँ वस्तु, लगभग ७०० किलोमिटर (४३० माइल) चौडा रहेको गत हप्ता एउटा अनलाइनमा प्रकाशित एक प्रिप्रिन्ट अध्ययनमा उल्लेख छ । यसले यसलाई प्लुटोभन्दा तीन गुणा सानो बताएको छ । तर यसलाई अझै पनि पुड्को ग्रह मान्न पर्याप्त शङ्का रहेको न्युजर्सीको इन्स्टिच्युट फर एडभान्सड स्टडीका प्रमुख अध्ययन लेखक सिहाओ चेङले बताए ।
यो वस्तु हाल पृथ्वीबाट नेप्च्युनभन्दा तीन गुणा टाढा छ । आफनाे २५ हजार वर्षको कक्षाको दौरान यो वस्तु पृथ्वीको पर्याप्त नजीक केवल ०.५ प्रतिशत समयमा मात्र हुन्छ, जुन लगभग एक शताब्दी हो । “यो पहिलेभन्दा कमजोर र बढी धमिलो हुँदै गइरहेको छ”–चेङले भने ।
यस खोजले नेप्च्युनभन्दा परको कुइपर बेल्टमा ‘समान कक्षाहरूमा सयौं समान चीजहरू छन्’ भन्ने देखिएको चेङले बताए ।
प्लानेट नाइनको खोजीमा कठिन डेटासेट खोज्न आधा वर्षभन्दा बढी समय बिताउने जोखिम लिएपछि चेङले उनले ‘केही’ फेला पारेकोमा भाग्यशाली रहेको बताए । तर क्यालिफोर्नियाका २३ वर्षीय सोखिन खगोलविद् स्याम डिन पहिले नै पुराना डेटासेटहरूमार्फत पुड्को ग्रहलाई ट्र्याक गर्न सक्षम भएका छन् । “ओएफ २०१, मेरो विचारमा पछिल्लो दशकमा बाहिरी सौर्यमण्डलमा सबैभन्दा चाखलाग्दो खोजहरूमध्ये एक हो”– डिनले भने ।
दुई दशक अघि खगोलविद्हरूले यो पृथ्वीभन्दा १० गुणा ठूलो विश्वको गुरुत्वाकर्षणको कारणले भएको थियो भनी प्रस्ताव गरे, यसलाई प्लानेट नाइन नाम दिए र त्यस बेलादेखि चलिरहेको बहस शुरू भयो ।
यसलाई कहिलेकाहीं प्लानेट एक्स पनि भनिन्छ । यो नाम एक शताब्दीभन्दा पहिले नेप्च्युनभन्दा बाहिरको काल्पनिक संसारका लागि प्रस्तावित गरिएको थियो ।
सन् १९३० मा खगोलविद्हरूले प्लानेट एक्सको खोजी गर्दा उनीहरूले प्लुटो फेला पारे । यो हाम्रो सौर्यमण्डलको नवौं ग्रह बन्यो ।
तर प्लुटो धेरै सानो निस्क्यो – यो चन्द्रमाभन्दा सानो छ र २००६ मा पुड्को ग्रहको स्थितिमा पुर्याइयो । अब त्यहाँ चार अन्य आधिकारिक रूपमा मान्यता प्राप्त पुड्का ग्रह छन् र चेङले २०१७ ओएफ २०१ तिनीहरूको श्रेणीमा सामेल हुन सक्ने विश्वास
गरेका छन् ।
जब अनुसन्धानकर्ताहरूले यसको कक्षाको मोडेल बनाए, तिनीहरूले यसले समान वस्तुहरूको समूहबद्ध प्रवृत्तिलाई पछ्याउँदैन भन्ने फेला पारे ।
यसले प्लानेट नाइन सिद्धान्तका लागि समस्या निम्त्याउन सक्छ, तर चेङले थप डेटा आवश्यक रहेकोमा जोड दिए ।
डिनका अनुसार अहिलेसम्म प्लानेट नाइनको कुनै सङ्केत नभेटिनु निरुत्साहजनक थियो । “तर भेरा रूबिन क्षितिजमा भएकोले मलाई लाग्दैन कि हामीले यसको अस्तित्वबारे धेरै लामो समयसम्म सोच्नुपर्नेछ ।”
“हामी यस्तो युगमा छौं जब ठूला टेलिस्कोपहरूले ब्रह्माण्डको किनारासम्म देख्न सक्छन्”–उनले भने–“तर हाम्रो घरको आँगनमा के छ त्यो अझै पनि धेरै हदसम्म अज्ञात छ ।” रासस
