प्रस, रक्सौल, ७ साउन/
बिहारको राजधानी पटनाबाट आएको सिबिआइ (CBI) को टोलीले रक्सौल रेलवे स्टेशनमा छापामारी गर्दै दुईजना कर्मचारीलाई घूसको रकमसहित पक्राउ गरेको छ ।
सिबिआइको महिला डिएसपीको नेतृत्वमा आएको टोलीले रक्सौल रेलवे स्टेशनमा कार्यरत पार्सल सुपरिटेन्डेन्ट माणिकचन्द्र र बूकिङ क्लर्क वीरेश कुमारलाई २० हजार भारतीय रूपैयाँसहित नियन्त्रणमा लिएको हो । स्रोतका अनुसार, स्थानीय व्यापारी अनिल यादवसँग पार्सल सुपरीटेन्डेन्ट माणिकचन्द्रले रकम माग गरेका थिए । व्यापारी यादवले सिबिआइमा उजुरी दिएपछि टोली रक्सौल आइपुगेको हो ।
बूकिङ क्लर्क वीरेश कुमारले व्यापारी अनिलबाट २० हजार भारु लिँदालिँदै रंगेहात पक्राउ परेका थिए । तर बयानमा उनले आफूले रकम लिए पनि उक्त रकम पार्सल सुपरिटेन्डेन्ट माणिकचन्द्रकै निर्देशनमा लिएको बताएपछि माणिकचन्द्रलाई पनि पक्राउ गरिएको सिबिआइले जनाएको छ ।
यसअघि पनि यी दुवै कर्मचारी रक्सौल कस्टममा बरामद भएको चाइनिज इ–सिगरेट प्रकरणमा आरोपी रहेका थिए र सोही कारण निलम्बनमा परेका थिए । तर, पछि निलम्बन फुकुवा भई पुनः कार्यमा फर्किएका उनीहरू अब घूस प्रकरणमा फेरि पक्राउ परेका हुन् ।
